राप्तीसोनारी : राप्तीसोनारी गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत तोकिएका सबै सूचक पूरा गरेपछि बुधबार आयोजित औपचारिक समारोहबीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । यसअघि बाँकेका नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउँपालिका पनि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा भइसकेका छन् । गाउँपालिकाभित्र जन्मेदेखि १५ महिनासम्मका १ हजार २ सय ७५ जना तथा २४ देखि ५९ महिनासम्मका ३ हजार २ सय १८ जना बालबालिकाले पूर्ण खोप पाएपछि राप्तीसोनारीले उक्त मान्यता प्राप्त गरेको हो ।
विशेष कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सिता कार्कीले राप्तीसोनारीलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना कायम भएको पालिका घोषणा गरेकी हुन् । कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरी र उपप्रमुख कार्कीले संयुक्त रूपमा गाउँपालिका स्तरीय खोप समन्वय समितिकी संयोजक तथा कार्यवाहक अध्यक्ष मनिषा सिंह थारुलाई पूर्णखोप घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै उपप्रमुख कार्कीले पूर्णखोप सुनिश्चित अभियान सफल बनाउन सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण रहेको बताइन् । गाउँगाउँमा पुगेर बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउन स्वयंसेविकाहरूले गरेको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उनले सबै स्वास्थ्य स्वयंसेविकाप्रति धन्यवाद व्यक्त गरिन् ।
उनले सीमित स्रोतसाधन र न्यून सुविधाका बीच पनि महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा स्वास्थ्य सचेतना फैलाउनेदेखि बालबालिकाको जीवन सुरक्षासम्म महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनीहरूको कामको सम्मानस्वरूप भत्ता वृद्धि गर्न गाउँपालिकासँग आग्रहसमेत गरिन् ।
कार्यवाहक अध्यक्ष मनिषा सिंह थारुले आगामी दिनमा पनि पूर्णखोप अवस्थालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी, व्यवस्थित र पहुँचयुक्त बनाइने बताउँदै उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा स्थानीय नागरिकप्रति आभार व्यक्त गरिन् ।
कार्यक्रमका क्रममा पालिका खोप समन्वय समितिले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने सुनिश्चित गरिने उल्लेख गरिएको थियो । साथै, आगामी दिनमा पनि खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै पूर्णखोप सुनिश्चितता र दिगोपनालाई कायम राख्ने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो ।
सोही अवसरमा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएर अवकाशमा जानुभएका फत्तेपुर स्वास्थ्य चौकीकी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका विजया कलवार तथा आधारभूत स्वास्थ्य केन्द्र कमैया डाँडाका बुद्धी क्षेत्रीलाई सम्मानसहित विदाइ गरिएको थियो । कार्यक्रममा सहभागीहरूले उनीहरूको सेवाभाव, समर्पण र समुदायप्रतिको योगदानको प्रशंसा गरेका थिए ।
स्वास्थ्य शाखा प्रमुख देवेन्द्र कुमार केसीका अनुसार स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र समुदायबीचको सहकार्यका कारण राप्तीसोनारी गाउँपालिका पूर्णखोप सुनिश्चिततामा सफल भएको हो । उनले यस उपलब्धिलाई बालस्वास्थ्य सुरक्षातर्फको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे ।