
सल्यान, जेठ १९ शारदा नदी तथा आसपासका खोलानालाबाट अवैध रूपमा नदीजन्य सामग्री उत्खनन र ढुवानी गर्ने गतिविधि नियन्त्रण गर्न प्रहरीले पछिल्लो दुई महिनामा ठूलो मात्रामा सवारीसाधन नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार चैत र वैशाख महिनामा मात्रै अवैध रूपमा गिट्टी–बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न ६३ वटा ट्याक्टर, टिपर, जेसिबी, एक्साभेटर र ट्रक नियन्त्रणमा लिइएको छ । तीमध्ये अधिकांशलाई सम्बन्धित स्थानीय तहमा बुझाएर जरिवाना असुलीपछि छाडिएको छ । पछिल्लो घटनामा मंगलबार शारदा नदीबाट अवैध रूपमा गिट्टी–बालुवा उत्खनन गरेको आरोपमा एक जेसिबी र एक ट्याक्टर नियन्त्रणमा लिएर शारदा नगरपालिकामा बुझाइएको प्रहरीले जनाएको छ । नगरपालिकाले सोही घटनामा ४ हजार ५ सय रुपैयाँ जरिवाना तिराएको छ ।
यसअघि आइतबार ईलाका प्रहरी कार्यालय रागेचौरले कुमाख गाउँपालिका–१ टाटके क्षेत्रबाट रागेचौरतर्फ बालुवा बोकेर आउँदै गरेका दुई ट्याक्टर पनि नियन्त्रणमा लिएको थियो । ती सवारीसाधन र चालकलाई आवश्यक कारबाहीका लागि पालिकामा बुझाइएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नदीजन्य पदार्थ उत्खननमा मापदण्डविपरीत खोलामै जेसिबी प्रयोग गर्ने, रातको समयमा उत्खनन गर्ने र अनुमति क्षेत्रभन्दा बाहिरबाट सामग्री संकलन गर्ने गतिविधि बढेकाले नियन्त्रण कडा पारिएको हो ।
उनका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनबाट करिब २ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । प्रहरीले अवैध उत्खननले जलचर प्राणीको विनाश, नदीको प्राकृतिक बहावमा असर, पानीका स्रोत घट्ने तथा बाढी–पहिरोको जोखिम बढाउने भएकाले यस्तो गतिविधि रोक्न स्थानीय तह र सरोकारवालासँग समन्वय आवश्यक रहेको जनाएको छ । साथै अमानत प्रणालीमार्फत उत्खनन गर्न पाउने–नपाउने विषयमा स्पष्ट नीति नहुँदा पनि समस्या देखिएको प्रहरीको भनाइ छ ।