
कोहलपुर । कोहलपुर नगरपालिकाले सञ्चालन गर्दै आएको निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट हालसम्म २ हजार ४ सय २२ जना नागरिक लाभान्वित भएका छन् । नगरवासीको स्वास्थ्य अवस्थाको पहिचान, समयमै उपचार तथा नसर्ने रोगहरूको व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको छ ।
नगरपालिकाले वैशाख १७ गतेदेखि विभिन्न वडामा सञ्चालन गरेको शिविर हालसम्म १२ वटा वडामा सम्पन्न भइसकेको जनाएको छ । विशेषगरी ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा स्वास्थ्य परीक्षण, परामर्श, प्रयोगशाला परीक्षण तथा विभिन्न रोगहरूको पहिचान र उपचार सेवा प्रदान गरिएको छ ।
नगर स्वास्थ्य शाखाका प्रमुख अनिल सेन ठकुरीका अनुसार शिविरमा १ हजार ८ सय ९४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणका क्रममा २ सय २५ जनामा उच्च रक्तचाप र १ सय १० जनामा मधुमेहको समस्या पहिचान भएको छ । यस्तै १ हजार ५ सय ८६ जनाले मेडिकल ओपिडी सेवा लिएका छन् ।
स्वास्थ्य परीक्षणका क्रममा ३१ जनामा थाइराइड, १ सय २२ जनामा बाथरोग तथा ग्यास्ट्राइटिस, दम, श्वासप्रश्वासलगायत अन्य नसर्ने रोगहरू देखिएको ठकुरीले जानकारी दिए । जटिल अवस्था भएका बिरामीलाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा प्रेषण गरिएको उनले बताए ।
शिविरअन्तर्गत २ सय ७८ जनाले भिडियो एक्स–रे सेवा लिएका छन् । परीक्षणका क्रममा २७ जनामा मिर्गौलाको पत्थरी, १५ जनामा अन्य मिर्गौला सम्बन्धी समस्या, ५ जनामा पित्तथैलीको पत्थरी, २८ जनामा पाठेघर सुनिने तथा ४ जनामा अन्य पाठेघर सम्बन्धी समस्या पहिचान भएको छ ।
महिलाहरूलाई लक्षित विशेष स्वास्थ्य सेवाअन्तर्गत १ हजार १ सय २२ जनाको स्तन क्यान्सर परीक्षण गरिएको थियो । परीक्षणमा ३० जना शंकास्पद बिरामी फेला परेपछि उनीहरूलाई थप परीक्षणका लागि प्रेषण गरिएको छ ।
त्यस्तै, ८ सय महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गर्दा २४ जनामा पोजेटिभ र ८० जनामा शंकास्पद अवस्था देखिएको ल्याब टेक्निसियन दीपक शर्माले जानकारी दिए । उनीहरूलाई पनि थप परीक्षण तथा उपचारका लागि सिफारिस गरिएको छ ।
नगरपालिकाका अनुसार शिविरमार्फत ४ सय ४ जनालाई विभिन्न स्वास्थ्य समस्यासम्बन्धी परामर्श तथा उपचार सेवा प्रदान गरिएको छ । कुल लाभग्राहीमध्ये २ हजार ४९ महिला र ३ सय ७३ पुरुष रहेका छन् ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले बाँकी वडाहरूमा समेत शिविर सञ्चालन गरिने जानकारी दिएका छन् । उनका अनुसार जेठ २० गते वडा नं. २ को आधारभूत स्वास्थ्य केन्द्र, जेठ २३ गते वडा नं. १ स्थित कृष्ण माध्यमिक विद्यालय तथा जेठ ३० गते वडा नं. ११ मा रहेको नगर अस्पतालमा शिविर सञ्चालन हुनेछ ।
नगर प्रमुख आचार्यले तोकिएको मिति, स्थान र समयमा उपस्थित भई निःशुल्क स्वास्थ्य सेवा लिन नगरवासीलाई आग्रह गरेका छन् । उनले नसर्ने रोगको समयमै पहिचान र उपचारका लागि यस्ता शिविर प्रभावकारी बन्दै गएको बताए ।