
राप्तीसोनारी, जेठ १८ राप्तीसोनारी गाउँपालिकामा कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले माटो परीक्षण सिविर औपचारिक रूपमा सुरु गरिएको छ । गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिक, वैज्ञानिक र उत्पादनमुखी बनाउने रणनीति अन्तर्गत वडा नम्बर ८ बाट उक्त सिविरको सुरुवात गरेको हो ।
सोमबारदेखि सुरु भएको माटो परीक्षण सिविर आगामी दिनमा गाउँपालिकाका सबै वडामा विस्तार गरिने कृषि शाखाले जनाएको छ । किसानहरूको खेतबारीमै पुगेर माटोको अवस्था, उर्वराशक्ति तथा आवश्यक पोषक तत्वहरूको परीक्षण गरी उपयुक्त मल व्यवस्थापन र खेती प्रणालीबारे सुझाव दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । कृषि शाखा प्रमुख महेन्द्र खड्काका अनुसार पहिलो दिन मात्र १२६ जना किसानहरूको माटो परीक्षण गरिएको छ । परीक्षणका क्रममा माटोमा रहेका प्रमुख पोषक तत्वहरू जस्तै नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा पहिचान गरिएको उनले जानकारी दिए । माटोमा यी तत्वहरूको सन्तुलनको आधारमा कुन बालीका लागि उपयुक्त हुन्छ र कस्तो प्रकारको मल प्रयोग गर्नुपर्छ भन्ने विषयमा प्राविधिक सुझाव समेत दिइएको छ ।
उनका अनुसार पछिल्लो समय परम्परागत खेती प्रणालीका कारण माटोको उर्वराशक्ति घट्दै गएको देखिएकाले वैज्ञानिक परीक्षण आवश्यक भएको हो । ‘किसानहरूले आफ्नो खेतको माटो कस्तो छ भन्ने थाहा नपाई अनावश्यक मल प्रयोग गर्ने प्रवृत्ति बढेको छ । यसले लागत बढाउने मात्र होइन, उत्पादनमा समेत नकारात्मक असर पार्छ,’ उनले बताए । सिविरको उद्घाटन तथा प्रारम्भिक अनुगमन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारुको उपस्थिति रहेको थियो । उनले कृषिलाई आत्मनिर्भर बनाउने प्रमुख आधार नै माटोको सही परीक्षण र व्यवस्थापन भएको उल्लेख गरिन् । किसानहरूलाई लक्षित गरी ल्याइएको यो कार्यक्रमले उत्पादन वृद्धि र लागत न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
त्यसैगरी वडा नम्बर ८ का वडा अध्यक्ष शालिकराम चौधरी र वडा नम्बर ९ की वडा सदस्य रिता बस्नेतको पनि कार्यक्रममा सहभागिता रहेको थियो । उनीहरूले माटो परीक्षण सिविरले किसानलाई वैज्ञानिक खेतीतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे । स्थानीय तहबाट यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न सके कृषि क्षेत्रमा सकारात्मक परिवर्तन आउने उनीहरूको धारणा थियो । माटो परीक्षणका क्रममा किसानहरूको खेतबारीबाट नमूना संकलन गरी तत्कालै परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । परीक्षणपछि किसानलाई आवश्यक मल, बाली छनोट तथा माटो सुधारका उपायबारे परामर्श दिइने कृषि शाखाले जनाएको छ ।
गाउँपालिकाका अनुसार आगामी दिनमा सबै वडामा क्रमशः सिविर सञ्चालन गर्दै अधिकतम किसानलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । यसले कृषि उत्पादनमा वृद्धि, लागतमा कमी र दिगो खेती प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कृषकहरूले पनि यस्ता सिविरले आफ्नो खेती प्रणाली सुधार गर्न ठूलो सहयोग पुगेको प्रतिक्रिया दिएका छन् । माटोको अवस्था थाहा पाएपछि अब सही बाली छनोट र मल प्रयोग गर्न सहज हुने उनीहरूको भनाइ छ ।
यसरी राप्तीसोनारी गाउँपालिकाले सुरु गरेको माटो परीक्षण सिविरले कृषकहरूलाई वैज्ञानिक कृषि प्रणालीतर्फ उन्मुख गराउँदै स्थानीय कृषि उत्पादनलाई दिगो र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ ।