राप्तीसोनारी सोनारीमा डिजिटल स्वास्थ्य प्रयोग

Author Logo..
२०८२ असोज १० गते शुक्रवार

ग्रामीण सेवामा नयाँ मोड, राप्तीसोनारीका सबै स्वास्थ्य संस्था डिजिटलमैत्रीप्रविधि प्रणाली लागू भएपछि स्वास्थ्यकर्मीको काम धेरै सहज भएको छ । पहिले बिरामी आएको मितिदेखि लिएर कुन रोगमा कुन औषधि दिइयो भन्ने विवरण खोज्न निकै समय लाग्थ्यो । अहिले कम्प्युटरमा दुई/चार क्लिकमै सबै तथ्यांक आउँछ । यसले उपचार गर्न सजिलो बनाएको छ ।देवेन्द्रकुमार केसीजन स्वास्थ्य निरीक्षकराप्तीसोनारी भौगोलिकरूपमा विकट छ । हामीलाई थाहा थियो कि स्वास्थ्य संस्थामा पुग्दा बिरामीलाई लामो लाइन बस्नुपर्ने, पुर्जी काट्न घण्टौँ कुर्नुपर्ने अवस्था छ । कागजी रजिष्टर पल्टाउँदै उपचार गर्नु स्वास्थ्यकर्मीलाई पनि झन्झटिलो थियो । त्यसैले हामीले स्वास्थ्य क्षेत्रमा प्रविधि प्रयोग गर्ने सोच बनायौँ ।

कोहलपुर,असोज १० 

नेपालका धेरैजसो ग्रामीण गाउँपालिकामा स्वास्थ्य संस्थाभित्र प्रवेश गर्दा अझै पनि कागजी फाइल र पुराना रजिस्टरको थुप्रो देखिन्छ । बिरामीको नाम, उमेर, रोग, औषधि सबै विवरण त्यही कागजमा सीमित रहन्छन् । तथ्याङ्क खोज्न घण्टौँ लाग्छ, फाइल हराउने समस्या पनि सामान्य हुन्छ । उपचार लिन पुगेका बिरामीलाई लामो लाइनमा बस्नुपर्ने, पुर्जी खोज्न र नाम टिपाउनै धेरै समय खर्चिनुपर्ने बाध्यता अझै कायम छ ।
तर बाँकेको राप्तीसोनारी गाउँपालिकाले भने यो परम्परागत प्रणालीलाई विगतको कुरा बनाइसकेको छ । गाउँपालिकाभर रहेका तीन आधारभूत स्वास्थ्य केन्द्र, एउटा आधारभूत अस्पताल, पाँच स्वास्थ्य चौकी, एउटा सर्पदंश उपचार केन्द्र, पाँच विद्यालय नर्स र एउटा आयुर्वेदिक केन्द्र सबै अहिले डिजिटल भइसकेका छन् । करिब साढे नौ लाख रुपैयाँ खर्च गरेर सुरु गरिएको यो पहलले गाउँपालिकालाई स्वास्थ्य क्षेत्रमा आधुनिकताको नयाँ पहिचान दिएको छ । डिजिटल प्रणाली लागू भएपछि अब बिरामी घरमै इन्टरनेटमार्फत टिकेट काटेर स्वास्थ्य संस्थामा जान सक्छन् । उपचारका लागि लामो लाइन बस्नुपर्ने छैन । स्वास्थ्यकर्मीले पनि बिरामीको सम्पूर्ण विवरण कम्प्युटरमा राख्छन् । कुन बिरामी कहिले आएको, के–के उपचार गरियो, कुन औषधि वितरण भयो सबै तथ्यांक क्लिकमै उपलब्ध हुन्छ । यसले उपचारलाई मात्र होइन, पालिकास्तरको योजना निर्माणलाई पनि सहज बनाएको छ ।

यस प्रणालीले ल्याएको मुख्य परिवर्तन भनेको अभिलेख सुरक्षित राख्ने सुविधा हो । पहिले कागजमा मात्र सीमित विवरण अहिले कम्प्युटरमा स्थायीरूपमा रहने भएकाले रोगको अवस्थाबारे तथ्यांक निकाल्न सजिलो भएको छ । उदाहरणका लागि, सर्पदंश उपचार केन्द्रमा अहिले कुन महिनामा कति बिरामी आए, कुन उमेर समूह बढी प्रभावित भयो भन्ने तथ्यांक तुरुन्त देखिन्छ । यस्ता तथ्यांकले आगामी दिनमा रोग नियन्त्रण रणनीति बनाउन महŒवपूर्ण आधार दिनेछन् । डिजिटल स्वास्थ्य सेवाले खर्चमा पनि कटौती गरेको छ । प्रत्येक वर्ष रजिस्टर छपाइ, पुर्जी खरिद, कागज व्यवस्थापनमा लाग्ने रकम उल्लेख्य थियो । अब ती सबै खर्च घटेको छ । गाउँपालिकाका जनप्रतिनिधिहरूका अनुसार, सानो रकम खर्चेर ठूलो उपलब्धि हासिल भएको छ ।

विद्यालय तहमा पनि यो प्रणाली उपयोगी बनेको छ । पाँच विद्यालयमा नियुक्त नर्सहरूले विद्यार्थीलाई दिएको उपचार र परामर्शसम्बन्धी सबै विवरण डिजिटल रूपमा राख्छन् । यसले विद्यार्थीको स्वास्थ्य निगरानीलाई व्यवस्थित मात्र बनाएको छैन, पालिकालाई भविष्यमा विद्यालय स्वास्थ्य कार्यक्रम विस्तार गर्न वैज्ञानिक आधार पनि दिएको छ । स्वास्थ्यकर्मीहरूका लागि पनि यो प्रणाली नयाँ अनुभवको विषय बनेको छ । उनीहरूलाई कम्प्युटर र सफ्टवेयर प्रयोग गर्ने सीप सिक्नुपर्ने भएकाले दक्षता बढेको छ । बिरामी व्यवस्थापन सजिलो भएको छ, समय बचत भएको छ र सेवा दिने तरिका पारदर्शी भएको छ । आयुर्वेदिक केन्द्रमा कार्यरत एक कर्मचारी भन्छन्, ‘पहिले बिरामीको लामो सूची राख्न कठिन हुन्थ्यो । अब कुन बिरामीलाई कुन उपचार दिइयो भन्ने कुरा कम्प्युटरमै सुरक्षित हुन्छ । यसले हाम्रो कामलाई व्यवस्थित बनाएको छ ।’

यस परिवर्तनप्रति स्थानीय बासिन्दाले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् । खासगरी दैनिक मजदुरी गर्ने र विद्यार्थीलाई ठूलो सुविधा भएको छ । मजदुरी गर्ने एक स्थानीय व्यक्ति भन्छन्, ‘काम छोडेर स्वास्थ्य चौकी जाँदा लामो लाइन बस्नुपर्ने हुन्थ्यो, अब घरमै इन्टरनेटबाट पुर्जी काटेर समयमा पुग्छु । काम पनि बिग्रिन्न, उपचार पनि हुन्छ ।’ राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार, अबको प्राथमिकता टेलिमेडिसिन सुरु गर्ने हो । मोबाइलमार्फत विशेषज्ञसँग प्रत्यक्ष सल्लाह लिन सक्ने प्रणाली कार्यान्वयन गर्ने तयारी भइरहेको छ । दुर्गम बस्तीका मानिसलाई विशेषज्ञको उपचार सहज बनाउन यही विकल्प प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
यो पहल केवल प्रविधिको प्रयोग मात्र होइन, ग्रामीण भेगमा स्वास्थ्य सेवा सुधार गर्ने नवीनतम प्रयासको उदाहरण हो । नेपालको ग्रामीण क्षेत्रमा अझै कागजी प्रणालीमै सीमित स्वास्थ्य सेवा सञ्चालन भइरहेको बेला राप्तीसोनारीले देखाएको बाटो अरू गाउँपालिकाका लागि पनि प्रेरणादायी बन्न सक्छ । यसरी हेर्दा, साढे नौ लाख रुपैयाँको लगानीले ल्याएको परिवर्तन रकमभन्दा निकै ठूलो छ । कागजी झन्झट हटाउनु, अभिलेख सुरक्षित राख्नु, समय र खर्च बचत गर्नु, रोग नियन्त्रणमा तथ्यांक उपयोग गर्नु यी सबैले राप्तीसोनारीलाई स्वास्थ्य क्षेत्रमा नयाँ अध्यायमा प्रवेश गराएको छ । अब गाउँपालिका भौगोलिक रूपमा विकट मात्र नभई प्रविधिको प्रयोगमा अग्रणी पनि बन्न पुगेको छ । यो कदमले स्थानीय बासिन्दामा स्वास्थ्य सेवाप्रतिको विश्वास बढाएको छ भने पालिकालाई भविष्यप्रतिको प्रतिबद्धतामा अझ दृढ बनाएको छ ।

राप्तीसोनारीको डिजिटल स्वास्थ्य अनुभवले देखाएको छ प्रविधि सहरमा मात्र होइन, गाउँमा पनि समान रूपमा प्रयोग गर्न सकिन्छ । प्रश्न अब यही हो, अन्य गाउँपालिकाले यो बाटो पछ्याउने साहस कहिले देखाउँछन् ?
‘राप्तीसोनारी गाउँपालिका भौगोलिकरूपमा विकट क्षेत्रमा पर्दछ । यहाँका जनताले लामो समयसम्म आधारभूत स्वास्थ्य सेवासमेत सहजरूपमा पाउन सक्ने अवस्था थिएन । हामीलाई थाहा थियो कि स्वास्थ्य संस्थामा पुग्दा बिरामीलाई लामो लाइन बस्नुपर्ने, पुर्जी काट्न घण्टौँ कुर्नुपर्ने अवस्था छ । कागजी रजिष्टर पल्टाउँदै उपचार गर्नु स्वास्थ्यकर्मीलाई पनि झन्झटिलो थियो । त्यसैले हामीले स्वास्थ्य क्षेत्रमा प्रविधि प्रयोग गर्ने सोच बनायौँ । करिब साढे नौ लाख रुपैयाँ खर्च गरेर गाउँपालिकाभरका स्वास्थ्य संस्था डिजिटल बनाउन सफल भयौँ,’ अध्यक्ष पौडेलले भने । डिजिटल प्रणाली सुरु भएपछि बिरामीलाई घरमै बसेर अनलाइनबाट पुर्जी काट्ने सुविधा मिलेको उनको भनाइ छ । ‘स्वास्थ्यकर्मीले कम्प्युटरमै बिरामीको विवरण राख्न थालेका छन् । यसले समय, श्रम र खर्च सबै बचत भएको छ । उपचारमा पारदर्शिता आएको छ, रोगको तथ्यांक व्यवस्थापन गर्न सजिलो भएको छ,’ उनी भन्छन्, ‘अब हाम्रो अर्को लक्ष्य टेलिमेडिसिन सेवा सुरु गर्नु हो, जसले गाउँमै बसेर विशेषज्ञ डाक्टरसँग सल्लाह लिन सकिनेछ । यो प्रयोगले हाम्रो गाउँपालिकालाई मात्र होइन, देशका अन्य स्थानीय तहलाई पनि प्रेरणा दिने विश्वास गरेका छौँ ।’

राप्तीसोनारी गाउँपालिकामा डिजिटल स्वास्थ्य प्रणाली लागू भएपछि स्वास्थ्यकर्मीको काम धेरै सहज भएको जन स्वास्थ्य निरीक्षक देवेन्द्रकुमार केसीले बताए । ‘पहिले बिरामी आएको मितिदेखि लिएर कुन रोगमा कुन औषधि दिइयो भन्ने विवरण खोज्न निकै समय लाग्थ्यो । अहिले कम्प्युटरमा दुई–चार क्लिकमै सबै तथ्यांक आउँछ । यसले उपचार गर्न सजिलो बनाएको छ । बिरामी व्यवस्थापनमा समय बचत भएको छ भने औषधि वितरणमा पारदर्शिता बढेको छ,’ उनले भने, ‘सर्पदंश उपचार केन्द्रदेखि विद्यालय स्वास्थ्य कार्यक्रमसम्म सबै क्षेत्रमा अब डिजिटल प्रणाली लागू भएको छ । यसले रोगको अवस्थाबारे स्पष्ट तस्वीर दिन थालेको छ । कुन उमेर समूहमा कुन समस्या बढी देखिएको छ भन्ने तथ्याङ्क हामीसँग सुरक्षित हुन्छ । यसले पालिकालाई मात्र होइन, प्रदेश र संघीय सरकारलाई समेत स्वास्थ्य नीतिनिर्माणमा मद्दत पुर्‍याउनेछ ।’ डिजिटल स्वास्थ्य प्रणाली सुरु गर्दा केही स्वास्थ्यकर्मीलाई कम्प्युटर चलाउन कठिन भए पनि अहिले सबैले सजिलै आत्मसात गरेका उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार