कोहलपुर, जेठ १९ बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता कारागारमा कैदीबन्दीबीच भएको विवाद र झडपपछि सुरक्षा अवस्था सामान्य बनाउन २० जना कैदीबन्दीलाई विभिन्न कारागारमा सरुवा गरिएको छ । पश्चिम नवलपरासी, दाङ, रुपन्देही र कपिलवस्तुका कारागारमा सरुवा गरिएको हो ।
बर्दघाट कारागार, केहीलाई तुलसीपुर कारागार, घोराही कारागार, रुपन्देही र कपिलवस्तु कारागारमा चार/चारजना गरी २० जनाको सरुवा गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कारागार प्रशासनका अनुसार बी ब्लकमा रहेका कैदी ओमप्रकाश अवस्थीलाई आन्तरिक सरुवा गरी डी ब्लकमा स्थानान्तरण गरिएपछि अन्य कैदीबन्दीहरूबीच असन्तुष्टि देखिएको थियो । सोही विषयलाई लिएर कैदी समूहबीच विवाद चर्किँदै गएपछि सामान्य हातपातसमेत भएको बताइएको छ । स्थिति बिग्रिँदै गएपछि करिब ३५ देखि ४० जनाको समूहले कारागारको च्यानल गेटभित्रबाट ढोका बन्द गरी होहल्ला तथा विरोध प्रदर्शन गरेका थिए । अर्को समूह करिब २० देखि २५ जना बाहिर बसेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो । घटनापछि कारागार क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर तथा चिसापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले तत्कालस्थिति नियन्त्रणमा लिएको थियो । त्यसपछि थप सुरक्षाका लागि सशस्त्र प्रहरी बलसमेत परिचालन गरिएको थियो । सुरक्षाकर्मीहरूले कैदीबन्दीलाई सम्झाइबुझाइ गरी अवस्था नियन्त्रणमा ल्याएका थिए । तर घटनापछि कैदीबन्दीहरूको व्यवहार र सुरक्षा जोखिम मूल्यांकनका आधारमा कारागार प्रशासनले कारबाहीस्वरूप २० जना कैदीलाई अन्य कारागारमा स्थानान्तरण गर्ने निर्णय गरेको हो । कारागार व्यवस्थापन विभागबाट प्राप्त निर्देशनअनुसार उनीहरूलाई नौबस्ता कारागारबाट बाहिर पठाइएको बताइएको छ ।
घटनापछि जिल्ला प्रशासन कार्यालय बाँके, सहायक प्रमुख जिल्ला अधिकारीसहित उच्च सुरक्षा अधिकारीहरू पनि घटनास्थल पुगेका थिए । उनीहरूको समन्वयमा करिब ८० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरी कारागारको स्थिति सामान्य बनाइएको थियो । यसैबीच, कैदीहरूले अनुसन्धानको माग गर्दै कारागारभित्रै केही संरचना क्षति गर्ने प्रयाससमेत गरेका थिए । तर सुरक्षाकर्मीको समयमै हस्तक्षेपपछि ठूलो क्षति हुन पाएन । हाल नौबस्ता कारागारको अवस्था पूर्णरूपमा सामान्य रहेको र बाँकी कैदीबन्दीलाई सुरक्षित ब्लकमा राखिएको कारागार प्रशासनले जनाएको छ । प्रशासनले यस्ता घटना दोहोरिन नदिन निगरानी थप कडा बनाइएको समेत स्पष्ट पारेको छ ।