कालीकोटमा जंगली जनावरको आक्रमण

Author Logo..
२०८३ जेष्ठ २८ गते बिहिवार

कालीकोट, जेठ २८ कालीकोट जिल्लामा जंगली जनावरको आक्रमणबाट एक स्थानीय व्यक्ति घाइते भएका छन् । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–४ निवासी नेत्रराज शाही सोमबार बिहान जंगली जनावरको आक्रमणमा परेका हुन् ।

प्राप्त जानकारी अनुसार बिहान करिब ७ बजेतिर शाही घरमा पालेको बङ्गुर चराउन नजिकैको क्षेत्रमा गएका थिए । सोही क्रममा सान्तीघाट राजमार्ग नजिकैको वन क्षेत्र आसपास अचानक जंगली जनावरले उनीमाथि आक्रमण गरेको बताइएको छ । आक्रमणबाट उनको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । घटना लगत्तै स्थानीयवासीले उद्धार गरी उनलाई तत्काल उपचारका लागि रास्कोट अस्पताल पुर्‍याएका थिए । अस्पताल स्रोतका अनुसार हाल उनको उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

घटनापछि आसपासका बस्तीमा त्रास फैलिएको छ । पछिल्ला दिनमा वन क्षेत्र नजिकका मानव बस्तीहरूमा जंगली जनावरको आवागमन बढ्दै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । बालबालिका, पशुचौपाया चराउने किसान तथा बिहान–बेलुका यात्रा गर्ने सर्वसाधारण बढी जोखिममा रहेको उनीहरूको भनाइ छ । स्थानीयले वन्यजन्तुको नियन्त्रण, निगरानी बढाउने तथा सुरक्षित बस्ती व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरूले वन कार्यालय र स्थानीय तहले तत्काल प्रभावकारी सुरक्षा उपाय अपनाउनुपर्ने मागसमेत गरेका छन् ।

यस्तै, स्थानीय प्रशासन तथा सरोकारवाला निकायले वन क्षेत्र आसपास आवतजावत गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । एक्लै जंगल वा सुनसान क्षेत्रमा नजान, पशुचौपाया चराउन जाँदा समूहमा जान तथा बिहान र साँझको समयमा उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने जंगली जनावरको पहिचान र नियन्त्रणका विषयमा सम्बन्धित निकायसँग समन्वय गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार