बुटवल । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा भारतीय सुरक्षाकर्मी नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले विरोध जनाएका छन्। हतियारसहित नेपाली भूमितर्फ आएका भारतीय सशस्त्र सीमा बल (एसएसबी)का सुरक्षाकर्मीलाई स्थानीय किसान तथा बासिन्दाले रोक्दै कारण सोधेपछि केही समय विवादको अवस्था सिर्जना भएको थियो।
स्थानीयका अनुसार एसएसबीका करिब ६ जना सुरक्षाकर्मी उखु खेती गरिएको क्षेत्रमा पुगेका थिए। उनीहरू नेपाली भूमितर्फ आएको देखेपछि स्थानीयले आपत्ति जनाएका थिए। स्थानीयको विरोधपछि भारतीय सुरक्षाकर्मी फर्किएका थिए। घटनापछि सीमा क्षेत्रमा केहीबेर तनावको अवस्था बनेको थियो।
नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले भारतीय सुरक्षाकर्मी नियमित गस्तीका क्रममा भारतीयतर्फ रहेको एउटा कल्भर्ट भत्किएपछि वैकल्पिक रूपमा नेपाली किसानको उखुबारीको आलि प्रयोग गर्ने क्रममा विवाद भएको बताए।
उनका अनुसार भारतीय सुरक्षाकर्मीले आफ्नो बाटो बिग्रिएकाले अस्थायी रूपमा नेपाली खेतको आलि प्रयोग गरेको जानकारी स्थानीय किसानलाई दिइएको थियो। साथै, भारतीय क्षेत्रभित्रकै बाटो मर्मत गरेर प्रयोग गर्न उनीहरूलाई निर्देशनसमेत दिइएको भण्डारीले बताए।
केही दिनअघि सुस्तामै भारतीय सुरक्षाकर्मीले तटबन्ध निर्माणमा अवरोध गरेको विषय सार्वजनिक भएको थियो। तर सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीका अनुसार आजको घटना र त्यसअघिको तटबन्धसम्बन्धी विवाद एउटै वडाभित्र भए पनि फरक–फरक स्थानका हुन्।
घटनाबारे स्थानीय प्रशासनले थप जानकारी संकलन गरिरहेको जनाएको छ।