कर्णाली करिडोरमा पहिरोको ठूलो क्षति, यातायात पूर्ण अवरुद्ध

Author Logo..
२०८३ जेष्ठ २८ गते बिहिवार

कालीकोट —   लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोर सडकखण्डको कालीकोट खण्डमा ठूलो क्षति पुगेपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकको एक महत्वपूर्ण भाग भासिएर कर्णाली नदीतर्फ खसेपछि यात्रु तथा मालवाहक सवारीसाधन सञ्चालन बन्द भएको हो।

वर्षाका कारण सडकको पर्खाल, ग्याबिन जाली तथा अन्य संरचना भत्किएपछि यात्रु तथा मालवाहक गाडीहरू बिच बाटोमै अलपत्र परेका छन्। सडकको ठूलो भाग नदीतर्फ बगेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

स्थानीय प्रेम चौलागाईका अनुसार केही दिनदेखिको अविरल वर्षाले सडक कमजोर बनाएको थियो। मङ्गलबार रातिको वर्षापछि आएको बाढी र पहिरोका कारण सडकको महत्वपूर्ण भाग भत्किँदा यातायात सेवा पूर्ण रूपमा बन्द भएको हो। सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामी ओसारपसार तथा स्थानीय जनजीवन प्रभावित भएको छ। वर्षाका कारण ग्रामीण सडकसमेत पूर्ण रूपमा बन्द भएका छन्।

सडक डिभिजन कार्यालय तथा सम्बन्धित निकायले क्षतिको विवरण संकलन गरी मर्मत तथा पुनर्निर्माणको तयारी थालेको जनाएको छ। तर वर्षा जारी रहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन चुनौती रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश ज्ञवालीका अनुसार सडक खुलाउने कामका लागि स्काभेटर परिचालन गरिएको छ। धेरै स्थानमा क्षति भएकाले सडक खुल्ने समय यकिन गर्न नसकिने भए पनि मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको उहाँले बताउनुभयो।

स्थानीयवासीले कर्णाली करिडोरजस्तो रणनीतिक महत्वको सडकमा बारम्बार हुने पहिरो र कटान नियन्त्रणका लागि दीर्घकालीन संरक्षणका उपाय अवलम्बन गर्न सरकारसँग माग गरेका छन्। दुई प्रदेश तथा सीमावर्ती क्षेत्रलाई जोड्ने यो महत्वपूर्ण सडकको मर्मत–सम्भार र संरक्षणमा सरकारले पर्याप्त ध्यान नदिएको उनीहरूको गुनासो छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार