दैलेख ,असार १८ गते कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित सडकबाट यात्रुवाहक फोर्स माइक्रोबस करिब ४०० मिटर तल कर्णाली नदीमा खस्दा नदीको बढ्दो जलसतहका कारण उद्धार कार्य प्रभावित भएको छ। गाडी पूर्ण रूपमा नदीमा डुबेकाले त्यसमा सवार यात्रुको अवस्था यकिन हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान करिब ११ः३० बजे दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनास्थलबाट नामथर र ठेगाना नखुलेका एक पुरुषलाई भिरमा अचेत अवस्थामा अड्किएको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नदीमा जलसतह उच्च भएकाले गाडी देखिनसमेत नसकेको र यही कारण खोज तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ।
उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख तथा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सुरक्षा बेसका सुरक्षाकर्मी संयुक्त रूपमा परिचालित छन्। साथै कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाको नेतृत्वमा गोताखोरसहितको टोली सुर्खेतबाट घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।
प्रहरीका अनुसार फोर्स गाडी सुर्खेत बसपार्कबाट बिहान ८ बजे छुटेको थियो। प्रारम्भिक जानकारीअनुसार पाँच जना सवार रहेको भनिए पनि वास्तविक यात्रु संख्या अझै यकिन हुन सकेको छैन।
दुर्घटनास्थल प्रहरीचौकी पाल्तडाबाट करिब तीन किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ। दुर्गम भौगोलिक अवस्था र नदीको तीव्र बहावका कारण घटनाबारे थप विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ।
