
राप्तीसोनारी, असार १७ राप्तीसोनारी गाउँपालिकाले कृषि उत्पादन वृद्धि, खेतीपातीलाई यान्त्रिकीकरण गर्दै किसानको उत्पादन लागत घटाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा विभिन्न कृषि उपकरण तथा साना सिँचाइका सामग्री कृषकलाई हस्तान्तरण गरेको छ ।
गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको ’किसानसँग पालिका प्रमुख कार्यक्रम’ मार्फत कृषकलाई १० हार्सपावर क्षमताको मिनी टिलर तथा ६ फिटको रोटाभेटर ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । त्यस्तै पूर्वाधार विकास कार्यक्रम (साना सिँचाइ) अन्तर्गत २ इन्चको बोरिङ सेट (४० फिट ठोकुवा पाइप) र १.५ हार्सपावर क्षमताको २ इन्च मोटरसमेत ५० प्रतिशत अनुदानमा हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
उपकरण हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले कृषिलाई आधुनिक र व्यवसायिक बनाउने लक्ष्यका साथ पालिकाले किसानमैत्री कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले खेतीमा श्रमको अभाव बढ्दै गएको अवस्थामा यान्त्रिकीकरण नै उत्पादन वृद्धि र लागत न्यूनीकरणको प्रभावकारी उपाय भएको उल्लेख गरे । ‘किसानलाई उत्पादनमुखी बनाउन र खेतीलाई प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ,’ उनले भने । उपाध्यक्ष मनिषा सिंह थारुले कृषि क्षेत्र गाउँपालिकाको प्रमुख आर्थिक आधार भएकाले किसानको आवश्यकता अनुसार अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले आधुनिक उपकरणको प्रयोगले समयको बचत, उत्पादन वृद्धि तथा कृषिप्रति युवाको आकर्षणसमेत बढ्ने विश्वास व्यक्त गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत मणिराम खरेलले गाउँपालिकाले वितरण गरिएका उपकरणको सदुपयोग गर्न कृषकलाई आग्रह गर्दै अनुदानको उद्देश्य उत्पादन वृद्धि र किसानको आयआर्जन बढाउनु रहेको बताए । उनले कृषि क्षेत्रमा गरिएको लगानीको प्रतिफल देखिने गरी उपकरणको सही प्रयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कृषि शाखा प्रमुख महेन्द्र खड्काले पालिकाको कृषि यान्त्रिकीकरण अभियानलाई चरणबद्ध रूपमा विस्तार गर्दै लगिएको जानकारी दिए । उनका अनुसार खेतीयोग्य जमिनको अधिकतम उपयोग, श्रम अभावको व्यवस्थापन र उत्पादन लागत घटाउने लक्ष्यअनुसार यस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् । आगामी दिनमा पनि किसानको माग र आवश्यकतालाई प्राथमिकतामा राखेर कृषि प्रवद्र्धनका कार्यक्रम अघि बढाइने उनले बताए ।
मिनी टिलर प्राप्त गरेका कृषक झगरुप्रसाद थारुले अनुदान कार्यक्रमले आफूजस्ता किसानलाई ठूलो राहत पुगेको बताए । ‘पहिले जोताइका लागि अरूको भर पर्नुपर्थ्यो । समयमै खेत तयार गर्न समस्या हुन्थ्यो । अब आफ्नै मिनी टिलर भएपछि खेती गर्न सहज हुने र लागत पनि घट्ने अपेक्षा गरेका छौँ,’ उनले भने । त्यस्तै रोटाभेटर प्राप्त गरेका कृषक रुद्रबहादुर भण्डारीले गाउँपालिकाको सहयोगले आधुनिक कृषि उपकरण प्रयोग गर्ने अवसर पाएको बताए । ‘रोटाभेटरले खेत छिटो तयार गर्न, इन्धन र समय बचत गर्न तथा उत्पादन बढाउन सहयोग पुग्ने विश्वास छ । यस्तो कार्यक्रमले किसानलाई व्यवसायिक खेतीतर्फ अझ प्रोत्साहन मिलेको छ,’ उनले प्रतिक्रिया दिए ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा लाभग्राही कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । गाउँपालिकाले कृषि उत्पादन वृद्धि, सिँचाइ सुविधा विस्तार तथा आधुनिक कृषि प्रविधिको प्रयोगमार्फत कृषकको आयस्तर उकास्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।