
नेपालगन्ज, असार १७ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी लुम्बिनी प्रदेशस्तरीय ‘उत्कृष्ट अनुसन्धान पुरस्कार–२०८३’ बाट सम्मानित भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको संयुक्त आयोजनामा बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ का अवसरमा एसपी जिसीलाई उत्कृष्ट अनुसन्धान कार्यसम्पादनका आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो ।
गोष्ठीमा प्रदेशका विभिन्न जिल्लाका प्रहरी प्रमुख तथा अनुसन्धान अधिकृतहरूले आ–आफ्नो जिल्लामा भएका अपराध अनुसन्धान, चुनौती, उपलब्धि र सुधारका प्रयासबारे प्रस्तुतीकरण गरेका थिए । सोही क्रममा एसपी जिसीले बाँके जिल्लामा विगत तीन वर्षको अपराध अनुसन्धान कार्ययोजना (थ्री–इयर क्राइम प्लान), अनुसन्धान प्रणालीमा अपनाइएका नवीन अभ्यास, अपराध नियन्त्रणका रणनीति तथा अनुसन्धानको प्रभावकारिताबारे विस्तृत प्रस्तुति दिएका थिए । त्यसपछि आयोजित पाँच मिनेटको ‘बेस्ट इन्भेस्टिगेसन शोकेस’ सत्रमा उनले बाँकेमा भएका उल्लेखनीय अनुसन्धान उपलब्धि, जटिल अपराधको सफल अनुसन्धान, वैज्ञानिक प्रमाण संकलन, अनुसन्धान समन्वय तथा अनुसन्धान प्रक्रियामा अपनाइएका प्रभावकारी अभ्यासहरू प्रस्तुत गरेका थिए । उक्त प्रस्तुति उत्कृष्ट ठहरिँदै एसपी जिसी लुम्बिनी प्रदेश उत्कृष्ट अनुसन्धान पुरस्कार–२०८३ का लागि छनोट भएका हुन् ।
पुरस्कारसँगै उनलाई सम्मानपत्र र ट्रफी प्रदान गरिएको थियो । कार्यक्रममा अपराध अनुसन्धानको गुणस्तर अभिवृद्धि, अनुसन्धानमा आधुनिक प्रविधिको प्रयोग, अनुभव आदानप्रदान तथा प्रदेशभर अनुसन्धान प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो । यस सम्मानले जिल्ला प्रहरी कार्यालय बाँकेको अनुसन्धान क्षमताको संस्थागत उपलब्धिलाई समेत उजागर गरेको सहभागीहरूले बताएका छन् । प्रहरी संगठनभित्र उत्कृष्ट अनुसन्धान अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको समीक्षा गोष्ठीले जिल्लाहरूबीच अनुभव आदानप्रदान, सफल अनुसन्धानका नमुना प्रस्तुत गर्ने तथा अनुसन्धान प्रणालीलाई थप व्यावसायिक र परिणाममुखी बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
एसपी जिसीलाई प्राप्त यो सम्मानले बाँके प्रहरीको अनुसन्धान कार्यप्रति विश्वास अझ सुदृढ बनाएको तथा आगामी दिनमा अझ प्रभावकारी, वैज्ञानिक र व्यावसायिक अनुसन्धानमार्फत नागरिकलाई न्याय दिलाउने प्रतिबद्धतालाई थप ऊर्जा प्रदान गरेको विश्वास व्यक्त गरिएको छ ।