
नेपालगन्ज, असार १७ विपन्न परिवारका महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले बाँकेमा निःशुल्क सिलाइ–कटाइ तथा एड्भान्स ब्युटिसियन तालिम सम्पन्न गरिएको छ । नारी विकास केन्द्र, नेपालगन्जको समन्वय तथा लुम्बिनी प्रदेश सरकारको शिक्षा तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय, बाँकेको आयोजनामा सञ्चालित तालिमको समापन गरिएको हो ।
समापन कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय बाँकेका कार्यालय प्रमुख रिसीराम शर्माको अध्यक्षता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल अहिर प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी थिए । नारी विकास केन्द्रका कार्यवाहक अध्यक्ष शिला शाह पनि कार्यक्रममा अतिथिका रूपमा उपस्थित थिइन् ।
कार्यक्रममा वक्ताहरूले महिलाहरूलाई सीप, ज्ञान, उद्यमशीलता र रोजगारीसँग जोडेर आर्थिकरूपमा आत्मनिर्भर बनाउन यस्ता तालिम प्रभावकारी हुने धारणा राखेका थिए । विपन्न महिलाहरूको आर्थिक सशक्तीकरणका लागि सीपमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा पनि जोड दिइयो ।
आयोजकका अनुसार तालिमबाट सहभागी महिलाहरूले सिलाइ–कटाइ तथा ब्युटिसियन क्षेत्रमा व्यावसायिक सीप हासिल गरेका छन् । यसले स्वरोजगार सिर्जना गर्न, आयआर्जन बढाउन तथा उद्यमशीलता प्रवद्र्धनमार्फत उनीहरूको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।