
राप्ती सोनारी ,असार-१६। राप्ती सोनारी गाउँपालिकाको पहल तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभाग र भूमि प्रशासन कार्यालय, कोहलपुर, बाँके को समन्वयमा राप्ती सोनारी गाउँपालिकामा आजदेखि भूमि प्रशासन कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको छ।

कार्यालय सञ्चालनको पहिलो दिन नै राप्ती सोनारी गाउँपालिका–९, निवासी श्री रोशन कुमार वली लाई जग्गाधनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपि प्रदान गर्दै सेवाको शुभारम्भ गरिएको हो।
यससँगै अब राप्ती सोनारी गाउँपालिकाका नागरिकहरूले जग्गा दर्ता, नामसारी, अभिलेख व्यवस्थापनलगायत भूमि प्रशासनसम्बन्धी विभिन्न सेवा आफ्नै पालिकाबाट सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्। यसबाट सेवाग्राहीको समय, खर्च र सास्तीमा उल्लेखनीय कमी आउने विश्वास गरिएको छ।

कार्यालय उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, भूमि प्रशासन कार्यालय, कोहलपुरका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।भने गाउँपालिका अध्यक्ष श्री तप्त बहादुर पौडेल ज्यूले भूमि प्रशासन कार्यालय सञ्चालनमा आउनु स्थानीय नागरिकका लागि ठूलो उपलब्धि भएको बताउँदै अब भूमि सम्बन्धी सेवा आफ्नै पालिकाबाट सहज रूपमा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “भूमि प्रशासन कार्यालयको स्थापना राप्ती सोनारीवासीका लागि ऐतिहासिक उपलब्धि हो। अब नागरिकले सामान्य भूमि सम्बन्धी सेवाका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। स्थानीय तहमै सहज, छिटोछरितो र पारदर्शी सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो।” सहभागीहरूले स्थानीय तहबाटै भूमि प्रशासन सेवा उपलब्ध हुनु नागरिकमैत्री शासन र प्रभावकारी सार्वजनिक सेवा प्रवाहतर्फको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
