
टीकापुर, असार १५ कर्णाली नदीमाथि निर्माण सम्पन्न भएको दौलतपुरको झोलुङ्गे पुल सञ्चालनमा आएपछि कैलालीको टीकापुर र बर्दियाको राजापुर क्षेत्र नयाँ पर्यटकीय आकर्षणका रूपमा उदाउन थालेका छन् । साँझपख नदीको शीतल हावा, पुलबाट देखिने मनोरम दृश्य र तस्बिर खिच्ने आकर्षणले दैनिक सयौँ आन्तरिक पर्यटक त्यहाँ पुग्न थालेका छन् ।
केही दिनअघि मात्रै सर्वसाधारणका लागि खुला गरिएको पुलमा विशेषगरी युवा पुस्ताको उल्लेख्य उपस्थिति देखिन्छ । पुलमाथिबाट कर्णाली नदी, हरियालीले ढाकेका फाँट र वरपरको प्राकृतिक सौन्दर्य अवलोकन गर्न आउनेको संख्या दिनप्रतिदिन बढिरहेको स्थानीयले बताएका छन् । टीकापुर–५ का किरण चौधरीका अनुसार अत्यधिक गर्मीका बेला साँझको समयमा पुलमा पुगेर केही समय बिताउनेहरूको भीड लाग्ने गरेको छ । उनका अनुसार सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो सार्वजनिक हुन थालेपछि अन्य स्थानबाट पनि मानिसहरू पुल हेर्न आउन थालेका छन् ।
पर्यटकको बढ्दो आगमनसँगै स्थानीय व्यवसाय पनि चलायमान हुन थालेका छन् । बर्दियाका फोटोग्राफर राजेश चौधरीले पुल आसपास फोटो तथा भिडियो खिच्ने सेवा दिँदै आएका छन् । उनी भन्छन्, ‘पहिले विभिन्न पर्यटकीय क्षेत्रमा पुगेर काम गर्नुपर्थ्यो, अहिले यही पुलमा आउने पर्यटकबाटै राम्रो आम्दानी भइरहेको छ ।’ स्थानीयका अनुसार पुल निर्माणले पर्यटन मात्रै होइन, दुई जिल्लाबीचको आवागमनलाई पनि सहज बनाएको छ । यसअघि कर्णाली नदी पार गर्न डुङ्गाको भर पर्नुपर्ने अवस्था थियो भने अहिले सुरक्षित रूपमा पैदल यात्रा गर्न सकिने भएको छ । पुल सञ्चालनमा आएपछि टीकापुर र राजापुरबीचको दूरी पनि उल्लेख्य रूपमा घटेको छ ।
स्थानीय प्रेमप्रसाद भण्डारीले पुलले दुई जिल्लाको आर्थिक तथा सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे । उनका अनुसार टीकापुर पार्क, राजापुर क्षेत्र र कर्णाली नदीलाई एउटै पर्यटकीय परिपथका रूपमा विकास गर्न सके स्थानीय रोजगारी र आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्नेछ । निर्माण कम्पनीका प्रबन्धक विक्रम बस्नेतका अनुसार २०८२ असार ११ गते सम्झौता भएको आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न गरिएको हो । पुल अहिले सञ्चालनमा आइसकेको छ भने सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए ।
करिब १५ करोड ७३ लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त झोलुङ्गे पुल ४८२ मिटर लामो रहेको निर्माण कम्पनीले जनाएको छ । पुल उद्घाटनका लागि असार १२ गते मिति तय गरिएको भए पनि केही प्रशासनिक कारणले औपचारिक उद्घाटन स्थगित भएको थियो । स्थानीय सुन्दरलाल थारुले कर्णाली नदीमाथिको पुल भविष्यमा यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बताए । उनका अनुसार पुल केन्द्रित होटल, रेष्टुरेन्ट, फोटोग्राफी, स्थानीय परिकार तथा अन्य साना व्यवसाय विस्तार हुने सम्भावना बढेको छ ।
यसैबीच टीकापुर–गेरुवा जोड्ने सन्कट्टीस्थित कर्णाली नदीमाथिको पक्की पुल पनि सञ्चालनमा आइसकेको छ । कर्णालीमाथिका यी दुई पूर्वाधार सञ्चालनमा आएपछि कैलाली र बर्दियाबीचको आवागमन थप सहज हुनुका साथै पश्चिम नेपालको पर्यटन विकासमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।