
धनगढी, जेठ २९ धान रोपाइँको मुख्य सिजन सुरु भइसक्दा पनि सुदूरपश्चिम प्रदेशका २६ स्थानीय तहले आफूहरूका लागि विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ । यसले किसानसम्म समयमै मल पुग्ने प्रक्रियामा समस्या उत्पन्न भएको भन्दै कृषि, वन तथा वातावरण मन्त्रालयले सम्बन्धित पालिकाहरूलाई तत्काल मल ढुवानी तथा वितरणको व्यवस्था गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका अनुसार प्रदेशका नौ जिल्लामा रहेका ४३ पालिकामध्ये केवल १७ पालिकाले मात्रै आफूलाई छुट्याइएको मल उठाएका छन् । बाँकी २६ पालिकाले पटकपटक जानकारी गराउँदा पनि आवश्यक प्रक्रिया अघि नबढाएको पाइएको हो । मल उठाउन ढिलाइ भइरहेकाले मन्त्रालयले सम्बन्धित पालिकाहरूलाई तत्काल सक्रिय हुन आग्रह गरेको छ । अन्यथा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोमार्फत किसानलाई सिधै मल बिक्री गर्ने विकल्प अपनाइने चेतावनीसमेत दिइएको छ ।
कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनको तथ्याङ्कअनुसार डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ, डोटी तथा अछामका विभिन्न स्थानीय तहले आफूहरूका लागि छुट्याइएको मल अझै उठाएका छैनन् । अछाममा साँफेबगर नगरपालिका, बन्नीगढी जयगढ गाउँपालिका र कमलबजार नगरपालिकाले मल ढुवानी गर्न बाँकी रहेको जनाइएको छ । कैलालीका केही स्थानीय तहले पनि पर्याप्त परिमाणमा मल उठाउन सकेका छैनन् । गोदावरी नगरपालिकाले २१ हजार २३० किलोग्राम, गौरीगंगा नगरपालिकाले ६ हजार ६९० किलोग्राम, जानकी गाउँपालिकाले १० हजार २५० किलोग्राम तथा धनगढी उपमहानगरपालिकाले २१ हजार ५०० किलोग्राम मल अझै उठाएका छैनन् ।
त्यस्तै कञ्चनपुरमा भीमदत्त नगरपालिकाले एक लाख ६ हजार ८०० किलोग्राम र बेदकोट नगरपालिकाले एक लाख ६ हजार ४०० किलोग्राम रासायनिक मल नलगेको तथ्याङ्कले देखाएको छ । धान रोपाइँको समय नजिकिँदै जाँदा मलको माग बढिरहेको अवस्थामा स्थानीय तहबाट वितरण प्रक्रिया सुस्त बनेको भन्दै मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । समयमै मल नपुगे उत्पादनमा प्रत्यक्ष असर पर्न सक्ने कृषि क्षेत्रका सरोकारवालाहरू बताउँछन् । सुदूरपश्चिम प्रदेशमा कृषि सामग्री कम्पनीमार्फत वितरण हुने कुल रासायनिक मलमध्ये कैलालीले ५२ प्रतिशत र कञ्चनपुरले ३२ प्रतिशत हिस्सा पाउने व्यवस्था छ । बाँकी १६ प्रतिशत मल डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ, अछाम र डोटीलगायत जिल्लाका पालिकाहरूलाई छुट्याइएको छ ।
यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत वितरण हुने मलमध्ये कैलालीलाई ३४ प्रतिशत र कञ्चनपुरलाई ५४ प्रतिशत हिस्सा तोकिएको छ । बाँकी १२ प्रतिशत मल अन्य जिल्लाका स्थानीय तहमा वितरण गरिने भए पनि अपेक्षित रूपमा उठान हुन नसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरूका अनुसार मल मौज्दात हुँदाहुँदै स्थानीय तहले समयमै ढुवानी र वितरण व्यवस्थापन नगर्दा किसानले मल अभावको समस्या भोग्नुपर्ने अवस्था सिर्जना हुन थालेको छ । त्यसैले रोपाइँको व्यस्त समयअघि नै मल किसानको हातमा पुर्याउन सबै पालिकालाई आवश्यक समन्वय र सक्रियता बढाउन आग्रह गरिएको छ ।