शिवपुरीमा उपचाररत छन् देउवा, फर्किने मिति टुंगो छैन

Author Logo..
२०८२ भाद्र ३१ गते मङ्गलवार

 

जेनजीको आन्दोलनका क्रममा आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अझै उपचाररत छन् ।

आक्रामक शैलीमा प्रस्तुत भएका आन्दोलनकारीको भीडभाडकाबीच सुरक्षाकर्मीले हेलिकोप्टरमार्फत देउवा दम्पतीको उद्धार गर्न खोजेको थियो । तर, आन्दोलनकारी हेलिकोप्टरमाथि नै जाइलागेपछि सेनाले गाडीमार्फत उनीहरूको उद्धार गरेको थियो ।

त्यसपछि उनलाई सेनाको शिवपुरीस्थित स्टाफ कलेजमा लगिएको थियो । त्यससयता उनी त्यहीँ रहेको सेनाको स्वास्थ्य संस्थामा उपचाररत रहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

‘उहाँको गर्धनमा गहिरो चोट लागेको थियो । सिसाको धारिलो वस्तुले हानेकाले गहिरो चोट लागेको थियो । त्यसैले उहाँको शिवपुरीमै उपचार भइरहेको छ,’ विश्वकर्माले भने, ‘हिजो भानुजीसँग कुरा हुँदा स्वास्थ्य स्थितिमा सुधार हुँदै आएको बताउनुभएको छ । आरजु दिदीको पनि स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । तर, घर कहिले फर्किनुहुन्छ भन्ने टुंगो छैन ।’

देउवाकै उपस्थितिमा बैठक गर्ने तयारी, ढिलो मात्रै खड्काले चलाउने

जेनजीको आन्दोलनपछि कांग्रेसले कार्यसम्पादन समितिको बैठक जुममार्फत गरेको थियो । तर, ठूलो राजनीतिक संकट आएकोले केन्द्रीय समितिको बैठक बोलाउन कांग्रेसमा दबाब बढेको छ ।

यसैले देउवा छिट्टै फर्किए उनको उपस्थितिमा नभए उपसभापति पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गर्ने विश्वकर्मा बताउँछन् ।

‘हामीले जुममार्फत भर्चुअल बैठक गरेर पार्टीको धारणा सार्वजनिक गरिसकेका छौं । महत्त्वपूर्ण अवस्था भएकोले सकेसम्म सभापतिकै उपस्थितिमा केन्द्रीय समितिको भौतिक बैठक नै गरौं भन्नेमा छौं,’ विश्वकर्माले भने, ‘सभापतिजी उपचारबाट फर्किन धेरै दिन लाग्ने भयो भने उपसभापतिको नेतृत्वमा केन्द्रीय समितिको बैठक बोलाउँछौं ।’

केन्द्रीय कार्यालय पूरै क्षति

प्रचार विभाग प्रमुख विश्वकर्माले जेनजीको आन्दोलनका क्रममा ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय पूर्ण रूपमा क्षति भएको जानकारी दिए ।

‘प्रचार विभागको कम्प्युटरसहितका सामान लिएर गए । तोडफोड गरे,’ विश्वकर्माले भने, ‘कुनै पनि पदाधिकारीको कार्यकक्ष, सभाहल, पुस्तकालय केही पनि आगलागीबाट बचेनन् ।’

पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, पूर्व सांसद धेरैको घरमा आगजनी र तोडफोड भएको उनको भनाइ छ ।

 

लोकान्तर 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार