
नेपालगञ्ज ,साउन १२ । पश्चिम नेपालकै प्रमुख प्रेषण अस्पताल भेरी अस्पतालले आफ्नो १३६औँ जन्मोत्सव मंगलबार विविध कार्यक्रमका साथ मनाएको छ। वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अस्पतालको सेवा विस्तार, पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्दै भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकको उपचारको प्रमुख केन्द्र भएकाले यसको स्तरवृद्धि सबैको साझा दायित्व भएको बताए। उनले अस्पतालका लागि आफ्नो पहलमा ३२५ करोड रुपैयाँ बजेट विनियोजन भए पनि सरकार परिवर्तनका कारण कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै आगामी दिनमा अस्पतालको विकासका लागि पुनः संयुक्त पहल आवश्यक रहेको धारणा राखे।
अस्पतालमा पर्याप्त जनशक्ति र सघन उपचार कक्ष (आईसीयू) सेवाको आवश्यकता रहेको उल्लेख गर्दै उनले स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायले त्यसतर्फ ध्यान दिनुपर्ने बताए। अस्पतालमा हुने अवाञ्छित गतिविधि रोक्न र स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न पनि उनले प्रशासनसँग आग्रह गरे।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले प्रदेश सरकारले भेरी अस्पतालको पूर्वाधार विकासमा आवश्यक सहयोग जारी राख्ने बताए। उनले आगामी आर्थिक वर्षमा अस्पतालका लागि ५० शैयाको समता भवन निर्माण गरिने जानकारी दिँदै यसले आमा तथा शिशु स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
प्रदेशसभा सदस्य माया पुनले भेरी अस्पताल यस क्षेत्रका नागरिकको भरोसाको केन्द्र बनेको उल्लेख गर्दै सेवा गुणस्तरलाई अझ प्रभावकारी बनाउन सबै पक्षले सहकार्य गर्नुपर्ने बताइन्।
कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले अस्पतालको वर्तमान सेवा, उपलब्धि, चुनौती र भावी योजनाबारे जानकारी गराएका थिए। उनले अस्पतालले बढ्दो बिरामी चापलाई व्यवस्थापन गर्दै सेवा विस्तारका लागि विभिन्न योजना अघि बढाइरहेको बताए।
जन्मोत्सवको अवसरमा अस्पतालको स्मारिका विमोचन, उत्कृष्ट कर्मचारी सम्मान तथा नाटकसहित विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुरेश चौधरी, केपी खनाल, सुस्मा स्वर्णकार, प्रदेशसभा सदस्य बादशाह कुर्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश महामन्त्री सीएम उपाध्याय, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङ, संघीय स्वास्थ्य मन्त्रालयका पूर्व अतिरिक्त सचिव डा. श्यामसुन्दर यादव, सञ्जीवनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोमन किदवाई, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निर्देशक डा. निरज भट्टराईलगायतको उपस्थिति रहेको थियो।
अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डक्ट धितालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भेरी अस्पतालले १३६ वर्षको सेवा यात्रालाई स्मरण गर्दै आगामी दिनमा अझ गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।