प्याब्सनले बुझायो मन्त्रीलाई ज्ञापनपत्र

Author Logo..
२०८२ भाद्र १ गते आइतवार

नेपालगन्ज-०२भदौ:-  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आइतबार लुम्बिनी प्रदेशका समाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएको छ । ‘विद्यालय शिक्षा विधेयक’ सच्याउन ध्यानाकर्षण गराउँदै मन्त्री तिमिल्सिनालाई ज्ञापनपत्र बुझाइएको प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले बताए ।

सरकारले ल्याएको शिक्षा सम्बन्धि प्रस्तावमा आपत्ति जनाउँदै प्याब्सनले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । शिक्षा विधेयकमा राखिएको १५ प्रतिशत पूर्ण छात्रवृत्तिको प्रावधान हटाउनुपर्ने, विधेयकमा उल्लेख गरिएको ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने’ वाक्यांश पनि हटाउनुपर्ने प्याब्सनको मुख्य माग रहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित प्रस्तावले निजी विद्यालयको भविष्य र स्वायत्ततालाई जोखिममा पार्ने भन्दै प्याब्सनले चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको हो ।  चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत आइतबार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको उनले बताए ।

त्यसैगरी भदौ २ गते सांसदहरूलाई भेटी ज्ञापनपत्र बुझाउने तथा दिउँसो २ः३० बजे राष्ट्रिय परिचर्चा आयोजना गर्ने, भदौ ३ र ५ गते क्रमशः पालिका र जिल्ला तहका समितिहरूको बैठक बस्ने र भदौ ६ गते सडकस्तरमै विरोध प्रदर्शन तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने उल्लेख छ । प्याब्सनले आन्दोलनका क्रममा आवश्यक परे सेवा अवरुद्ध गर्ने चेतावनी समेत दिएको छ । प्याब्सनले साउन २९ गते स्थानीय सरकारका प्रमुख र पालिकाका शिक्षा प्रमुखहरु, साउन ३० गते जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईमार्फत ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार