
नेपालगञ्ज, असार ४ गते । युवाको नेतृत्व क्षमता अभिवृद्धि, नवप्रवर्तन प्रवर्द्धन र स्थानीय विकास प्रक्रियामा अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यसहित नेपालगञ्जमा दुई दिने युवा विकास सम्मेलन–२०८३ सुरु भएको छ ।
सम्भावना नेपालको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा आयोजित सम्मेलनको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गरेका हुन् । सम्मेलनमा शिक्षा, सुशासन, पर्यटन, वातावरण संरक्षण, डिजिटल प्रविधि तथा युवा नेतृत्व विकासका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले युवालाई राष्ट्र निर्माणको प्रमुख शक्ति भएको उल्लेख गर्दै उनीहरूको क्षमता विकास र नेतृत्व अभिवृद्धिका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । उनले समृद्ध समाज निर्माणका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
“युवाले आफ्नो समयलाई सिर्जनशील र उत्पादनशील कार्यमा लगाउनुपर्छ,” उनले भने, “परिवर्तनका संवाहकका रूपमा युवाले जिम्मेवार ढंगले समाजमा भूमिका निर्वाह गर्न आवश्यक छ ।”
सम्भावना नेपालका अध्यक्ष साहिल अन्सारीले सम्मेलनले युवाको नेतृत्व विकाससँगै स्थानीय तहको योजना निर्माण प्रक्रियामा युवाको सहभागिता बढाउने लक्ष्य लिएको बताए । उनका अनुसार सम्मेलनले युवालाई नीति निर्माण, नवप्रवर्तन र सामाजिक रूपान्तरणका विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने साझा मञ्च प्रदान गर्नेछ ।
कार्यक्रमका विशिष्ट अतिथि तथा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले युवाको ऊर्जा र सिर्जनशीलतालाई सही दिशामा परिचालन गर्नुपर्नेमा जोड दिए । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले सकारात्मक सोच र जिम्मेवार व्यवहारमार्फत युवाले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताए ।
उद्घाटन कार्यक्रममा बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सम्भावना नेपालकी महासचिव लक्ष्मी तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने सचिव आत्मराम बर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।