खोप नपाउँदा ८ वर्षीया बालिकाको मृत्यु, जुम्लामा रेबिजको जोखिम फेरि उजागर

Author Logo..
२०८३ असार १ गते सोमवार

सिँजा (जुम्ला), असार १ — कुकुरले टोकेपछि समयमै रेबिज विरुद्धको खोप नपाउँदा जुम्लाकी एक बालिकाको मृत्यु भएको छ। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार मृत्यु भएपछि जिल्लामा रेबिज खोपको अभाव र जनचेतनाको समस्या फेरि चर्चामा आएको छ।

बालरोग विशेषज्ञ डा. कमल थानीका अनुसार करिब दुई महिनाअघि कुकुरले टोकेकी समितालाई समयमै रेबिज विरुद्धको खोप लगाउन नसक्दा संक्रमण गम्भीर बनेको थियो। अन्तिम अवस्थामा मात्र अस्पताल ल्याइएकी उनको रेबिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको डा. थानीले बताए।

उनका अनुसार समितालाई टोकेको कुकुरले अन्य तीन–चार जनालाई समेत टोकेको जानकारी प्राप्त भएको छ। ती व्यक्तिहरूले खोप लगाए वा नलगाएको तत्काल पहिचान गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए।

रेबिज लागिसकेपछि उपचार अत्यन्त जटिल हुने भए पनि कुकुर, स्याल वा अन्य संक्रमित जनावरले टोकेलगत्तै रेबिज विरुद्धको खोप लगाए ज्यान बचाउन सकिने डा. थानीले बताए। उनले यो घटनालाई एउटा बालिकाको मृत्युमा मात्र सीमित नराखी सार्वजनिक स्वास्थ्यसँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

रेबिज शतप्रतिशत ज्यान लिन सक्ने रोग भए पनि समयमै खोप लगाए पूर्ण रूपमा रोकथाम गर्न सकिने उनको भनाइ छ।

यता, जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले समयमै खरिद प्रक्रिया पूरा हुन नसक्दा जिल्लामा रेबिज खोपको अभाव भएको बताए। उनका अनुसार नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको रेबिज विरुद्धको खोप हाल कर्णालीका अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध छैन।

हाल जुम्लाको कालिकाखेतुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र २० डोज खोप मौज्दात रहेको जनाइएको छ। खोपको अभाव, जनचेतनाको कमी र स्वास्थ्य सेवा लिन हुने ढिलाइका कारण यस्ता दुःखद घटना दोहोरिन सक्ने जोखिम रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

जनस्वास्थ्य सेवा कार्यालयले कुकुर, स्याल वा अन्य जनावरले टोकेपछि ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा पुगेर रेबिज विरुद्धको खोप लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार