इरानले अन्तरिम सम्झौताका प्रावधानहरू पूर्ण रूपमा कार्यान्वयन नभएसम्म संयुक्त राज्य अमेरिकासँग अन्तिम आणविक सम्झौतामा हस्ताक्षर नगर्ने स्पष्ट चेतावनी दिएको छ।
इरानी विदेश मन्त्री अब्बास अराघचीले पूर्वनिर्धारित प्रतिबद्धताहरू पूरा नभएसम्म आणविक वार्तालाई अन्तिम निष्कर्षमा नपुर्याइने बताएका हुन्।
इरानको सरकारी प्रसारक इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी)सँगको अन्तर्वार्तामा अराघचीले प्रारम्भिक सम्झौतापछि अमेरिकालाई आफ्ना दायित्व पूरा गर्न ६० दिनको समय दिइने र त्यसको प्रभावकारी कार्यान्वयनपछि मात्र थप प्रक्रिया अघि बढाइने बताए।
उनका अनुसार समझदारी तथा ज्ञापन–पत्रमा उल्लेख गरिएका प्रावधानहरू कार्यान्वयन नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर गरिने छैन। उनले सम्झौतासम्बन्धी निर्णय इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्भित्र सामूहिक रूपमा हुने र स्वीकृति प्राप्त भएपछि मात्र हस्ताक्षर प्रक्रिया अघि बढ्ने स्पष्ट पारे।
अराघचीले अमेरिकी पक्षले विगतमा पनि सम्झौताका प्रतिबद्धताहरू पूर्ण रूपमा पालना गर्न नसकेको आरोप लगाउँदै यसपटक पनि कार्यान्वयनमा चुनौती आउन सक्ने संकेत गरे। उनले अमेरिकाले दायित्व पूरा नगरेर अवरोध सिर्जना गरे अन्तिम सम्झौता नै प्रभावित हुने चेतावनी दिए।
अमेरिकी राजनीतिज्ञहरूमा प्रतिबद्धता तोड्ने प्रवृत्ति रहेको दाबी गर्दै उनले इरानले व्यवहारिक कार्यान्वयनलाई नै मुख्य आधार बनाएर निर्णय गर्ने बताए।
सुरक्षा सम्बन्धी विषयमा उनले इरानले आफ्नो सुरक्षा सुनिश्चित गर्न बाह्य शक्ति वा अन्तर्राष्ट्रिय गठबन्धनमा निर्भर नहुने उल्लेख गर्दै भगवान, जनताको समर्थन र आफ्नै सशस्त्र सेनाको क्षमतामाथि भरोसा गर्ने धारणा व्यक्त गरे।