लुम्बिनीमा नयाँ आर्थिक नियमावली स्वीकृत, बजेट कार्यान्वयन सहज हुने अपेक्षा

Author Logo..
२०८३ जेष्ठ ३० गते शनिवार

दाङ, जेठ ३० लुम्बिनी प्रदेश सरकारले बजेट कार्यान्वयन र वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नियमावली स्वीकृत गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली, २०८३’ पारित गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको हो । नयाँ व्यवस्थाले बजेट कार्यान्वयन प्रक्रियालाई थप सरल, पारदर्शी र उत्तरदायी बनाउने लक्ष्य लिएको उनले बताए । नियमावलीअनुसार अब आन्तरिक रकमान्तरका लागि सम्बन्धित मन्त्रालयले पहिले जस्तो आर्थिक मामिला तथा योजना मन्त्रालयको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था खुकुलो बनाइएको छ । यसले प्रशासनिक प्रक्रिया छिटो हुने र काममा हुने ढिलासुस्ती घट्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी योजना संशोधन गर्ने अधिकार पनि सम्बन्धित मन्त्रालयमै प्रदान गरिएको छ, जसले आवश्यक परेका योजनाहरू समयमै परिमार्जन गर्न सहज बनाउने विश्वास सरकारको छ । यसअघि पुस मसान्तसम्म मात्र सीमित रहेको योजना नाम संशोधनको अवधि अब चैत मसान्तसम्म विस्तार गरिएको छ । यस परिवर्तनले कार्यान्वयनका क्रममा देखिने व्यवहारिक समस्या समाधान गर्न सहयोग पुग्ने जनाइएको छ ।
प्रदेश सरकारले नयाँ नियमावलीले बजेट कार्यान्वयनलाई परिणाममुखी बनाउँदै विकास परियोजनाहरूको गति बढाउने अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार