सबै नागरिकका लागि पहुँचयोग्य बन्दै सरकारी वेबसाइट

Author Logo..
२०८३ जेष्ठ २७ गते बुधवार

काठमाडौं ।   अब सरकारी वेबसाइटहरू दृष्टिविहीन, न्यून दृष्टि भएका, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका व्यक्तिले पनि सहज रूपमा प्रयोग गर्न सक्ने भएका छन्। सरकारले सबै सरकारी वेबसाइटमा पहुँचमैत्री (एक्सेसिबिलिटी) उपकरणहरू समावेश गर्दै डिजिटल सेवामा समावेशिता बढाउने कदम अघि बढाएको छ।

सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाडीका अनुसार सरकारी निकायका वेबसाइटमा राखिएका नयाँ पहुँचमैत्री सुविधाले दृष्टिविहीन, रङ्ग पहिचानमा समस्या भएका, पढाइसम्बन्धी कठिनाइ भएका तथा कम प्राविधिक ज्ञान भएका नागरिकलाई वेबसाइट प्रयोग गर्न सहज बनाउनेछ।

सरकारले गत चैतमा सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ३० मा सरकारी एप तथा पोर्टललाई अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकले समेत सहज रूपमा प्रयोग गर्न सक्ने गरी विकास गर्ने लक्ष्य राखिएको छ।

सरकारी वेबसाइट खोलिसकेपछि तलपट्टि मध्यभागमा रहेको ‘एक्सेसिबिलिटी टुल’ आइकनमार्फत प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार वेबसाइटको स्वरूप र सामग्री समायोजन गर्न सक्छन्।

यस सुविधाअन्तर्गत अक्षरको आकार सानो वा ठूलो बनाउन सकिने, अक्षर र पृष्ठभूमिबीचको भिन्नता (कन्ट्रास्ट) बढाउन सकिने तथा सामग्रीलाई थप स्पष्ट रूपमा हेर्न मिल्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, विभिन्न रङ फिल्टर प्रयोग गर्न सकिने, अक्षर तथा हरफबीचको दूरी मिलाउन सकिने र आफूअनुकूल फन्ट चयन गर्न सकिने सुविधा पनि उपलब्ध छ।

प्रयोगकर्ताको सहजताका लागि माउस कर्सरको आकार परिवर्तन गर्ने, वेबसाइटमा रहेका तस्बिर लुकाएर केवल पाठ्य सामग्री मात्र पढ्न मिल्ने तथा चलायमान दृश्य र एनिमेसन रोक्न सकिने सुविधा पनि थपिएको विभागले जनाएको छ।

विभागका अनुसार वेबसाइटहरू अन्तरराष्ट्रिय मापदण्ड ‘वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन’ (डब्ल्युसिएजी) अनुरूप विकास गरिएका हुन्। यी वेबसाइट किबोर्डको प्रयोगबाट मात्रै सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

वेबसाइटमा राखिएको ‘स्किप नेभिगेसन’ लिङ्कले किबोर्ड तथा स्क्रिन रिडर प्रयोगकर्तालाई सिधै मुख्य सामग्रीमा पुग्न सहयोग पुर्‍याउँछ। साथै, महत्वपूर्ण तस्बिर, लोगो तथा सेवासम्बन्धी सामग्रीमा राखिएको ‘अल्ट टेक्स्ट’ले दृष्टिविहीन प्रयोगकर्तालाई सामग्री बुझ्न सहज बनाउँछ।

फाराम भर्दा देखिने त्रुटि सन्देश र सुझाव पनि सजिलै सुन्न तथा बुझ्न सकिने गरी वेबसाइट तयार पारिएको विभागले जनाएको छ। सर्च तथा सम्पर्क फारामजस्ता इनपुट क्षेत्रमा स्पष्ट नाम र सङ्केत राखिएकाले स्क्रिन रिडर प्रयोगकर्तालाई थप सहज हुने विश्वास गरिएको छ। किबोर्ड प्रयोगकर्ताले आफू वेबसाइटको कुन स्थानमा रहेको छु भन्ने जानकारी पनि सहजै प्राप्त गर्न सक्छन्।

यसअघि गत वैशाखमा विभागले अपाङ्गमैत्री सुविधासहित सञ्चालन हुने सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको अद्यावधिकसम्बन्धी तालिम सञ्चालन गरेको थियो। विभिन्न मन्त्रालय तथा विभागका कर्मचारीलाई लक्षित उक्त तालिममार्फत पहुँचमैत्री डिजिटल सेवा विस्तारका लागि क्षमता अभिवृद्धि गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार