धम्बोझी क्लबलाई प्रथम यु–२० फुटबलको उपाधि

Author Logo..
२०८३ जेष्ठ २५ गते सोमवार

नेपालगन्ज, जेठ २५  जेनजी सहिद ई. सुलभराज श्रेष्ठ र आयुष थापा मगरको स्मृतिमा आयोजित प्रथम यु–२० (नाइन ए साइड) फुटबल प्रतियोगिताको उपाधि आयोजक धम्बोझी क्लबले जितेको छ । फाइनलमा खजुराको ब्रदर्श एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै धम्बोझीले घरेलु मैदानमा उपाधि उचालेको हो ।

विशालचोकस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा सम्पन्न प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको २७औँ मिनेटमा गोल गर्दै ब्रदर्श एफसीले अग्रता बनाएको थियो । त्यसपछि खेलको अधिकांश समय दबाबमा रहेको धम्बोझीले अन्तिम समयमा पुनरागमन गर्दै खेल बराबरीमा ल्यायो । खेल सकिन करिब तीन मिनेट बाँकी रहँदा अनिपाल शाहीले महत्वपूर्ण गोल गर्दै धम्बोझीलाई हारबाट जोगाएका थिए । उनको गोलपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा धम्बोझीका सुदीप केसी, महेश बुढाथोकी र अजय परियारले गोल गरे । ब्रदर्श एफसीका सुरज विक र सैलेन्द्र विसीले मात्र गोल गर्न सकेपछि धम्बोझी ३–२ ले विजयी बन्यो । उपाधिसँगै धम्बोझी क्लबले ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता ब्रदर्श एफसीले ३१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

व्यक्तिगत विधातर्फ धम्बोझीका गोलकिपर गोकर्ण पुन ‘प्लेयर अफ द फाइनल’ घोषित भए । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका धम्बोझीकै अनिपाल शाही ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित हुँदै पुरस्कृत भए । प्रतियोगिताका विजेता तथा उपविजेता टोलीका खेलाडीलाई सहिद ई. सुलभराज श्रेष्ठ र आयुष थापा मगरका परिवारका सदस्य, अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य तथा बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाही, नेपालगन्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजाल तथा धम्बोझी क्लबका अध्यक्ष तारामान कुँवरलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताले युवा खेलाडीको प्रतिभा उजागर गर्न तथा स्थानीय फुटबलको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार