बर्दियाबाट चितवन लिने कृष्णसारलाई चितुवाको जोखिम

Author Logo..
२०८३ जेष्ठ २४ गते आइतवार

कोहलपुर, जेठ २४  बर्दिया राष्ट्रिय निकुञ्जबाट कृष्णसार ल्याएर चितवनको टिकौलीस्थित बरण्डाभार जंगलमा बसोबास गराउने तयारी तीव्र पारिए पनि चितुवाको जोखिमका कारण स्थानान्तरण प्रक्रिया अझै अन्योलमा परेको छ । कृष्णसारको सुरक्षालाई प्रमुख चासोका रूपमा राख्दै प्राविधिक टोलीले इनक्लोजर आसपासका रुख हटाउन सुझाव दिएको छ ।

वन तथा वातावरण मन्त्री गीता चौधरीले आफ्नो प्रारम्भिक निर्णयमध्ये कृष्णसार स्थानान्तरणलाई समेटेपछि यस विषयले पुनः गति लिएको हो । वर्षौंदेखि तयारी भइरहे पनि सुरक्षा सम्बन्धी प्राविधिक प्रश्न समाधान नहुँदा बर्दियाबाट कृष्णसार चितवन ल्याउने काम रोकिएको छ । डिभिजन वन कार्यालय चितवनका प्रमुख डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार कृष्णसार राख्न तयार गरिएको क्षेत्रमा घाँसे मैदान, पानीको व्यवस्था र तारबार पर्याप्त भए पनि चितुवा प्रवेशको जोखिम देखिएको छ । ‘तारबार नजिक रहेका रुख चितुवाका लागि सहज पहुँच बन्न सक्छन् । कृष्णसार चितुवाको प्रमुख आहारा भएकाले सुरक्षा सुनिश्चित गर्नुपर्छ,’ उनले भने ।

प्राविधिक अध्ययनले तारबारभित्रका २९ र बाहिरका १०३ वटा रुख हटाउन आवश्यक देखाएको छ । तीमध्ये अधिकांश पुराना सालका रुख भएकाले हटाउन उच्च तहको निर्णय आवश्यक पर्ने जनाइएको छ । रत्ननगर नगरपालिकाले सात वर्षअघि नै बर्दियाबाट कृष्णसार ल्याउने लक्ष्यसहित पूर्वाधार निर्माण सुरु गरेको थियो । नगरपालिकाले करिब तीन करोड रुपैयाँ खर्च गरेर झण्डै २० हेक्टर क्षेत्रमा तारबार, घाँसे मैदान तथा पानीको व्यवस्था मिलाइसकेको छ ।

नगर प्रमुख प्रल्हाद सापकोटाले बर्दिया राष्ट्रिय निकुञ्जबाट कृष्णसार ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताए । ‘लामो समयदेखि यो योजना कार्यान्वयनको प्रतीक्षामा छ । आवश्यक प्रक्रिया पूरा गरेर सकेसम्म चाँडो बर्दियाबाट कृष्णसार ल्याउने लक्ष्य छ,’ उनले भने । वन कार्यालयका अनुसार प्रारम्भिक चरणमा बर्दिया राष्ट्रिय निकुञ्जबाट १८ वटा कृष्णसार चितवन ल्याउने योजना छ । तीमध्ये १२ वटा पोथी र ६ वटा भाले हुनेछन् । आवश्यक परे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट समेत थप कृष्णसार ल्याउन सकिने विकल्प खुला राखिएको छ ।

चितवनमा कृष्णसारको नयाँ बासस्थान विकास गर्ने योजनालाई संरक्षणसँगै पर्यटन प्रवद्र्धनसँग पनि जोडिएको छ । स्थानीय सरकारले कृष्णसार अवलोकन केन्द्रका रूपमा क्षेत्रलाई विकास गर्ने योजना अघि सारेको छ । तर त्यसअघि चितुवाको जोखिम न्यूनीकरण गरेर स्थानान्तरण गरिएका कृष्णसारको सुरक्षा सुनिश्चित गर्नु सबैभन्दा महत्वपूर्ण विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार