धवल शमशेरको आरोप : ‘दुष्प्रचार र गैरजिम्मेवार नेतृत्वले राप्रपा संकटमा’

Author Logo..
२०८३ जेष्ठ २० गते बुधवार

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएका नेता धवल शमशेर राणा ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन माथि दुष्प्रचार गरेको आरोप लगाएका छन्।

बुधबार ध्यानाकर्षण पत्र जारी गर्दै राणाले अध्यक्ष लिङ्देनले आफ्नो जिम्मेवारीबारे भ्रम फैलाउने अभिव्यक्ति दिएको दाबी गरेका हुन्। उनले अधिवेशनको तालिका तयार पार्ने जिम्मेवारी आफूलाई दिइएको भए पनि जिम्मेवारीबाट पन्छिएको वा भागेको भन्ने आरोप असत्य र दुष्प्रचारपूर्ण भएको बताएका छन्।

राणाले जारी गरेको पत्रमा अध्यक्षबाट आएको यस्तो अभिव्यक्ति हास्यास्पद तथा गैरजिम्मेवारपूर्ण शैलीको उदाहरण भएको उल्लेख गरेका छन्। पार्टी नेतृत्वले वास्तविकताभन्दा फरक ढंगले तथ्य प्रस्तुत गरेर कार्यकर्ता र समर्थकलाई भ्रमित पार्न खोजेको उनको आरोप छ।

उनले राप्रपाको वर्तमान अवस्थाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। नेतृत्वको कार्यशैलीकै कारण पार्टीले पछिल्ला निर्वाचनहरूमा आफ्नो साख गुमाएको र जनविश्वास कमजोर बन्दै गएको उनको जिकिर छ। पार्टीभित्र विश्वासको संकट गहिरिँदै गएकाले संगठनले तय गरेका लक्ष्य र उद्देश्य प्राप्त गर्ने मार्ग अवरुद्ध भएको पनि उनले बताएका छन्।

राणाले पार्टीभित्र देखिएको संकट समाधानका लागि नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। साथै, अध्यक्ष लिङ्देनद्वारा जारी विज्ञप्तिको भ्रममा नपर्न राष्ट्रवादी सोच भएका व्यक्ति तथा शक्तिहरूलाई आग्रह गरेका छन्।

उनले आफूले अघि बढाएको अभियानमा राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने भन्दै वैकल्पिक राजनीतिक यात्रामा साथ दिन समर्थकहरूलाई आह्वान गरेका छन्।

राप्रपाभित्र पछिल्लो समय देखिएको मतभेद सार्वजनिक रूपमै छताछुल्ल भएको अवस्थामा राणाको यो अभिव्यक्तिलाई पार्टीभित्रको आन्तरिक विवादको अर्को श्रृंखलाका रूपमा हेरिएको छ। यसले राप्रपाको भावी राजनीतिक दिशा र संगठनात्मक एकतामाथि थप प्रश्न उठाएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार