सुरु भयो मानसरोवर तीर्थ यात्रा भारतीय तीर्थयात्रीको भीडले नेपालगन्जदेखि सिमकोटसम्म चहलपहल, मानसरोवर यात्रामा हुम्ला मार्गप्रति आकर्षण बढ्दो

Author Logo..
२०८३ जेष्ठ २२ गते शुक्रवार

उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक तथा दक्षिण भारतका विभिन्न राज्यबाट आउने तीर्थयात्रीहरूको संख्या उल्लेख्य रहेको पर्यटन व्यवसायीहरू बताउँछन् । भारतका केही राज्य सरकारले तीर्थयात्राका लागि आर्थिक अनुदानसमेत उपलब्ध गराउने गरेका कारण यात्रुप्रति आकर्षण झन् बढेको छ । यद्यपि यात्रामा केही चुनौती पनि छन् । भिसा प्रक्रिया, मौसमको अनिश्चितता, उच्च हिमाली क्षेत्रका कारण हुने स्वास्थ्य समस्या, सीमित पूर्वाधार तथा सञ्चार सुविधाको अभावले यात्रुहरूलाई कहिलेकाहीँ कठिनाइ भोग्नुपरेको स्थानीय सरोकारवालाहरूको भनाइ छ । तर धार्मिक आस्था र आध्यात्मिक अनुभूतिको खोजीमा आउने तीर्थयात्रीहरूका लागि यी चुनौती गौण बन्ने गरेका छन् ।

नेपालगन्ज, जेठ २२   कैलाश–मानसरोवर तीर्थयात्राको सिजन सुरु भएसँगै भारतीय तीर्थयात्रीको उल्लेख्य आगमनले नेपालगन्जदेखि हुम्लाको सिमकोट र चीन सीमास्थित हिल्सासम्मको क्षेत्र यतिबेला अत्यन्त व्यस्त बनेको छ । हजारौं भारतीय श्रद्धालु कैलाश पर्वत र मानसरोवर तालको दर्शनका लागि हुम्ला मार्ग रोज्न थालेपछि विमानस्थल, होटल, यातायात सेवा तथा स्थानीय बजारहरूमा चहलपहल बढेको छ ।

नागरिक उड्डयन कार्यालयका अनुसार बुधबार मात्रै सिमकोट विमानस्थलमा दुईतर्फी गरी १ सय ७० उडान सञ्चालन भएका छन् । नेपालगन्जबाट सिमकोटका लागि जहाज र सिमकोटबाट हिल्सासम्म हेलिकोप्टरमार्फत तीर्थयात्री ओसार्ने कार्य तीव्र रूपमा भइरहेको छ । कार्यालयका अनुसार नेपालगन्ज–सिमकोट खण्डमा २९ वटा जहाज उडेका छन् भने सिमकोट–हिल्सा मार्गमा ५६ वटा हेलिकोप्टर उडान भएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार तीर्थयात्रा सुरु भएको तीन सातामै २ हजार १ सय २४ भारतीय तीर्थयात्रीले कैलाश–मानसरोवर दर्शन गरिसकेका छन् । तीमध्ये करिब १ हजार २ सय पुरुष र ९ सय महिला रहेका छन् । आगामी सेप्टेम्बरसम्मका लागि झण्डै १५ हजारभन्दा बढी भारतीय तीर्थयात्रीले यात्रा बुकिङ गरिसकेको कैलाश यात्रा सञ्चालक संघ नेपालले जनाएको छ ।

भारतीय तीर्थयात्रीहरू प्रायः भारतको लखनउ हुँदै स्थलमार्गबाट नेपालगन्ज आइपुग्छन् । त्यसपछि नेपालगन्जबाट जहाजमार्फत हुम्लाको सिमकोट पुगेर हेलिकोप्टरबाट हिल्सा नाका हुँदै चीन प्रवेश गर्छन् । त्यहाँबाट मानसरोवर र कैलाश पर्वततर्फको यात्रा सुरु हुन्छ । यात्रा सञ्चालकहरूका अनुसार अन्य मार्गको तुलनामा समय कम लाग्ने र व्यवस्थापन सहज हुने भएकाले हुम्ला मार्ग भारतीय तीर्थयात्रीको पहिलो रोजाइ बन्दै गएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले तीर्थयात्रीको चाप अत्यधिक बढेको बताए । उनका अनुसार बिहान साढे ६ बजेदेखि नै उडान सञ्चालन गर्नुपर्ने अवस्था छ । तीर्थयात्रीहरूको सुरक्षाका लागि प्रशासन, प्रहरी र सम्बन्धित निकायले आवश्यक व्यवस्था मिलाएको उनले जानकारी दिए ।

सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहका अनुसार तीर्थयात्रीको चाप व्यवस्थापन गर्न विभिन्न वायुसेवा कम्पनीका जहाज नेपालगन्जमा केन्द्रित गरिएका छन् भने सिमकोटमा हेलिकोप्टरहरू तयारी अवस्थामा राखिएका छन् । मौसम अनुकूल हुँदा दैनिक दर्जनौं उडान भइरहेका छन् । यद्यपि एकै समयमा धेरै उडान हुँदा हवाई ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको उनले बताए । तीर्थयात्रीको आगमनले नेपालगन्ज र सिमकोटका होटल व्यवसायीलाई पनि राम्रो व्यवसाय मिलेको छ । नेपालगन्जका ठूला होटलहरू अधिकांश भरिभराउ भएका छन् भने सिमकोटका होटलहरूमा पनि कोठा अभाव हुन थालेको व्यवसायीहरूले बताएका छन् । स्थानीय भरिया, गाइड, होटल कर्मचारी तथा यातायात क्षेत्रमा संलग्न व्यक्तिहरूले समेत राम्रो आम्दानी गरिरहेका छन् ।

हुम्ला उद्योग वाणिज्य संघका अनुसार तीर्थयात्रीको आगमनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ । स्याउ, ओखर, सिमी, फापर, उवा लगायतका स्थानीय उत्पादनले राम्रो बजार पाएका छन् । स्थानीय किसानहरू व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् भने पर्यटनसँग जोडिएका अन्य सेवा क्षेत्रहरू पनि चलायमान भएका छन् । भारतीय तीर्थयात्रीहरूका लागि कैलाश–मानसरोवर केवल एउटा भ्रमण गन्तव्य मात्र नभई गहिरो धार्मिक आस्थाको केन्द्र हो । हिन्दू धर्मावलम्बीहरू भगवान शिवको वासस्थानका रूपमा कैलाश पर्वतलाई मान्छन् । मानसरोवरमा स्नान गर्दा पाप नष्ट हुने र मोक्ष प्राप्त हुने विश्वासका कारण प्रत्येक वर्ष हजारौं श्रद्धालु यहाँ पुग्ने गरेका छन् । बौद्ध, जैन तथा बोन धर्मावलम्बीका लागि पनि यो क्षेत्र अत्यन्त पवित्र मानिन्छ ।

उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक तथा दक्षिण भारतका विभिन्न राज्यबाट आउने तीर्थयात्रीहरूको संख्या उल्लेख्य रहेको पर्यटन व्यवसायीहरू बताउँछन् । भारतका केही राज्य सरकारले तीर्थयात्राका लागि आर्थिक अनुदानसमेत उपलब्ध गराउने गरेका कारण यात्रुप्रति आकर्षण झन् बढेको छ । यद्यपि यात्रामा केही चुनौती पनि छन् । भिसा प्रक्रिया, मौसमको अनिश्चितता, उच्च हिमाली क्षेत्रका कारण हुने स्वास्थ्य समस्या, सीमित पूर्वाधार तथा सञ्चार सुविधाको अभावले यात्रुहरूलाई कहिलेकाहीँ कठिनाइ भोग्नुपरेको स्थानीय सरोकारवालाहरूको भनाइ छ । तर धार्मिक आस्था र आध्यात्मिक अनुभूतिको खोजीमा आउने तीर्थयात्रीहरूका लागि यी चुनौती गौण बन्ने गरेका छन् ।
यस वर्ष पनि हुम्लाको हिल्सा नाका हुँदै हजारौं भारतीय तीर्थयात्री कैलाश–मानसरोवर पुग्ने अनुमान गरिएको छ । तीर्थयात्रीको निरन्तर बढ्दो आगमनले नेपालगन्ज, सिमकोट र समग्र हुम्ला क्षेत्रको पर्यटन तथा स्थानीय अर्थतन्त्रलाई नयाँ ऊर्जा दिएको सरोकारवालाहरू बताउँछन् ।

मानसरोवर यात्रुलाई बाँके राष्ट्रिय निकुञ्जसँग जोड्न सकिए पर्यटनमा नयाँ अवसर


कैलाश–मानसरोवर दर्शनका लागि भारतबाट नेपालगन्ज हुँदै हुम्ला जाने तीर्थयात्रीको संख्या प्रत्येक वर्ष बढिरहेको छ । यस वर्ष मात्र हजारौं भारतीय श्रद्धालुले हुम्लाको हिल्सा नाका हुँदै मानसरोवर यात्राको बुकिङ गरिसकेका छन् । तर तीर्थयात्रीको यो ठूलो प्रवाहलाई बाँकेको पर्यटनसँग जोड्ने पहल भने अझै प्रभावकारी रूपमा हुन सकेको छैन ।
पर्यटन व्यवसायीहरूका अनुसार नेपालगन्जमा एक वा दुई दिन बस्ने तीर्थयात्रीलाई बाँके राष्ट्रिय निकुञ्ज भ्रमण गराउन सकिए स्थानीय पर्यटन क्षेत्रले उल्लेखनीय लाभ लिन सक्छ । नेपालगन्जबाट करिब आधा घण्टाको दूरीमा रहेको निकुञ्ज जैविक विविधता, वन्यजन्तु र प्राकृतिक सौन्दर्यका हिसाबले महŒवपूर्ण गन्तव्य मानिन्छ । बाँके राष्ट्रिय निकुञ्जमा बाघ, हात्ती, चितुवा, जरायो, नीलगाई, घडियाललगायत विभिन्न वन्यजन्तु पाइन्छन् । जंगल सफारी, प्रकृति अवलोकन तथा चराचुरुङ्गी अध्ययनका लागि यो क्षेत्र उपयुक्त मानिन्छ । धार्मिक यात्रामा निस्किएका भारतीय पर्यटकलाई नेपालको तराई क्षेत्रको प्राकृतिक सम्पदासँग परिचित गराउने अवसर पनि यसबाट प्राप्त हुन सक्छ ।
पर्यटन व्यवसायीहरू भन्छन्, मानसरोवर यात्राको प्याकेजमै ‘हाफ डे’ वा ‘वन डे सफारी’ कार्यक्रम समावेश गर्न सकिए यात्रुको बसाइँ अवधि बढ्नेछ । यसले होटल, यातायात, गाइड सेवा र स्थानीय व्यापारमा प्रत्यक्ष आर्थिक लाभ पुर्‍याउनेछ । हाल अधिकांश तीर्थयात्री नेपालगन्जमा आइपुगेपछि अर्को दिन सिमकोटतर्फ उड्ने गर्छन् । मौसम प्रतिकूल हुँदा वा उडान रोकिने अवस्थामा पनि उनीहरू प्रायः होटलमै सीमित रहने गरेका छन् । यस्तो समयमा निकुञ्ज भ्रमणलाई वैकल्पिक गतिविधिका रूपमा विकास गर्न सकिन्छ । पर्यटन विज्ञहरूका अनुसार धार्मिक पर्यटन र प्राकृतिक पर्यटनलाई एकै प्याकेजमा जोड्न सकिए नेपालगन्ज केवल ट्रान्जिट केन्द्रमा सीमित रहने छैन । मानसरोवर यात्रुको बढ्दो आगमनलाई अवसरका रूपमा उपयोग गर्दै बाँके राष्ट्रिय निकुञ्जलाई अन्तर्राष्ट्रिय पर्यटकमाझ चिनाउने उपयुक्त समय आएको उनीहरूको भनाइ छ ।

भारतीय तिर्थयात्रुलाई बागेश्वरी मन्दिर पुर्‍याउन सकिए..


भारतबाट कैलाश–मानसरोवर यात्रामा निस्कने अधिकांश श्रद्धालु नेपालगन्ज हुँदै हुम्ला पुग्छन् । धार्मिक आस्थासँग जोडिएका यस्ता यात्रुहरू नेपालगन्जमा पुगेर पनि यहाँको प्रमुख धार्मिकस्थल बागेश्वरी मन्दिरको दर्शन नगरी फर्किने अवस्था छ । सरोकारवालाहरूका अनुसार तीर्थयात्रीलाई व्यवस्थितरूपमा बागेश्वरी मन्दिरसम्म पुर्‍याउन सके नेपालगन्जको धार्मिक पर्यटनले नयाँ गति लिन सक्छ ।
नेपालगन्जको मुटुमा रहेको बागेश्वरी मन्दिर पश्चिम नेपालकै प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ । यहाँ दैनिक सयौं भक्तजन पुग्ने गर्छन् भने दशैं, चैते दशैं र विभिन्न धार्मिक पर्वमा ठूलो मेला लाग्ने गर्दछ । भारतका विभिन्न राज्यबाट आउने श्रद्धालुका लागि पनि यो मन्दिर आकर्षक धार्मिक गन्तव्य बन्न सक्ने सम्भावना रहेको पर्यटन व्यवसायीहरू बताउँछन् । मानसरोवर जाने यात्रुहरूको मुख्य उद्देश्य धार्मिक यात्रासँग जोडिएको हुने भएकाले उनीहरूलाई बागेश्वरी मन्दिर, स्थानीय धार्मिक सम्पदा तथा सांस्कृतिक गतिविधिसँग जोड्न सकिए नेपालगन्जको पहिचान अझ फराकिलो बन्ने अपेक्षा गरिएको छ ।
पर्यटन क्षेत्रका जानकारहरूका अनुसार ट्राभल एजेन्सीहरूले नेपालगन्ज आगमनपछि ‘बागेश्वरी दर्शन कार्यक्रम’ सञ्चालन गर्न सक्छन् । विमान उडानको समय, मौसम प्रतिकूलता वा अतिरिक्त बसाइका बेला मन्दिर दर्शन, आरती अवलोकन तथा धार्मिक कार्यक्रम समावेश गर्न सकिन्छ । यसबाट तीर्थयात्रीलाई नयाँ धार्मिक अनुभव प्राप्त हुने मात्र होइन, स्थानीय होटल, रेष्टुरेन्ट, यातायात तथा धार्मिक सामग्री बिक्री गर्ने व्यवसायीले समेत प्रत्यक्ष लाभ पाउनेछन् । मन्दिर वरपरको क्षेत्रलाई अझ व्यवस्थित बनाउने, बहुभाषिक सूचना सामग्री राख्ने तथा भारतका पर्यटकलाई लक्षित प्रचारप्रसार गर्ने हो भने आकर्षण अझ बढ्न सक्छ ।
पर्यटन व्यवसायीहरूको भनाइमा, कैलाश–मानसरोवर जाने यात्रुलाई नेपालगन्जमा एक दिन थप रोक्न सक्ने सबैभन्दा सहज माध्यम धार्मिक पर्यटन नै हो । त्यसका लागि बागेश्वरी मन्दिरलाई मानसरोवर यात्राको ‘आध्यात्मिक प्रवेशद्वार’का रूपमा स्थापित गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार