
राप्तीसोनारी, जेठ १५ राप्तीसोनारी गाउँपालिका–८ मा सञ्चालन गरिएको तीन दिने निःशुल्क पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ परीक्षण तथा सामाजिक सुरक्षा परामर्श शिविर सम्पन्न भएको छ । स्वास्थ्य तथा शिक्षा विकास केन्द्र बाँकेको आयोजनामा भएको शिविर वडा नम्बर ८ र नेपाल परिवार नियोजन संघ बाँकेको समन्वयमा सञ्चालन गरिएको हो ।
कार्यक्रमलाई अमेरिकन हिमालयन फाउन्डेसनले आर्थिक सहयोग गरेको थियो । महिलाको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षणसँगै विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको आयोजकले जनाएको छ । तीन दिनसम्म सञ्चालन भएको शिविरमा १५५ जनाले सामाजिक सुरक्षा सम्बन्धी परामर्श सेवा लिएका थिए । शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षणअर्थात् पाठेघरको मुखको एसिटिक एसिडद्वारा गरिने परीक्षणमार्फत १२१ महिलाको पाठेघरको मुख परीक्षण गरिएको थियो । परीक्षणका क्रममा २ जनामा शंकास्पद अवस्था देखिएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । उनीहरूलाई थप उपचार तथा विस्तृत परीक्षणका लागि सिफारिस गरिएको स्वास्थ्य तथा शिक्षा विकास केन्द्र बाँकेकी सदस्य सरस्वती बस्नेतले बताइन् ।
त्यस्तै, यौन संक्रमणसम्बन्धी रोगको पहिचान तथा उपचार सेवा ४५ जनालाई प्रदान गरिएको थियो भने स्तनसम्बन्धी स्वास्थ्य सेवा ५ जनाले लिएका थिए । परिवार नियोजनअन्तर्गत ८ जनाले इम्प्लान्ट सेवा लिएका छन् । शिविरमा पाठेघर खस्ने समस्या भएका ३ जना महिलाको पहिचान गरिएको थियो भने २ जनालाई रिङ पेसरी राखिएको उनले जानकारी दिइन् । ग्रामीण क्षेत्रमा महिलाहरू स्वास्थ्य परीक्षणबाट टाढा रहने अवस्थालाई मध्यनजर गर्दै यस्ता शिविर प्रभावकारी भएको स्थानीयले बताएका छन् । निःशुल्क सेवा पाएपछि महिलाहरू उत्साहित देखिएका थिए । शिविरका माध्यमबाट महिलामा पाठेघरको मुखको क्यान्सर, यौन संक्रमण तथा प्रजनन स्वास्थ्यबारे चेतना फैलिएको सहभागीहरूले बताएका छन् ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।