
राप्तीसोनारी, जेठ १५ राप्तीसोनारी गाउँपालिका–८, बाँकेमा सञ्चालन गरिएको १ महिने निःशुल्क प्लम्बर तालिम सम्पन्न भएको छ । लक्षित वर्गअन्तर्गत सीपमूलक तालिम कार्यक्रममार्फत सञ्चालन गरिएको उक्त तालिम वैशाख ९ गतेदेखि जेठ १३ गतेसम्म सञ्चालन भएको थियो ।
तालिम समापन कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष शालीकराम डाँगी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा कञ्चन प्राविधिक सीप विकास केन्द्र प्रालिका निर्देशक भिमप्रसाद पौडेलको सभापतित्व थियो । राप्तीसोनारी गाउँपालिकाको आयोजनामा तथा कञ्चन प्राविधिक सीप विकास केन्द्र प्रालि नेपालगन्ज–१०, बाँकेको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । बेरोजगार तथा आर्थिकरूपमा विपन्न समुदायलाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
३० दिनसम्म सञ्चालन भएको तालिममा एकजना महिलासहित २० जना सहभागी रहेका थिए । तालिम अवधिभर सहभागीलाई प्लम्बिङसम्बन्धी आधारभूत तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । घर तथा भवनमा प्रयोग हुने पाइप जडान, धाराको मर्मत, पानी व्यवस्थापनलगायतका विषयमा व्यवहारिक अभ्यास गराइएको प्रशिक्षकहरूले बताएका छन् । तालिममा अनिशा चौधरीसहित दुईजना प्रशिक्षकले सहजीकरण गरेका थिए । प्रशिक्षकहरूले सहभागीलाई सीपसँगै स्वरोजगारका सम्भावनाबारे पनि जानकारी गराएका थिए ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाँगीले सीपमूलक तालिमले युवालाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जनसँग जोडिन सहभागीलाई आग्रह गरे । निर्देशक पौडेलले प्राविधिक शिक्षा र सीप विकासले बेरोजगारी समस्या समाधानमा टेवा पुग्ने उल्लेख गर्दै यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने बताए । सहभागीहरूले तालिमबाट व्यवहारिक ज्ञान प्राप्त भएको भन्दै आगामी दिनमा स्वरोजगार बन्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।