नेपालगन्ज विमानस्थलः समयमै आगो नियन्त्रण हुँदा ठूलो क्षति हुनबाट बच्यो

Author Logo..
२०८३ जेष्ठ १४ गते बिहिवार

नेपालगन्ज, जेठ १४  बाँकेको नेपालगन्ज विमानस्थलमा मंगलबार दिउँसो भएको आगलागी समयमै नियन्त्रणमा आउँदा ठूलो क्षति हुनबाट जोगिएको छ । पुरानो ट्रान्सफर्मर नजिक विद्युत् लाइनबाट स्पार्क भएर आगोको झिल्का खस्दा विमानस्थल परिसरभित्र आगलागी भएको थियो ।

तार आपसमा ठोक्किँदा, इन्सुलेसन बिग्रिँदा, ट्रान्सफर्मर वा लाइनमा प्राविधिक खराबी आउँदा, वा हावाहुरीका कारण लाइन सर्ट हुँदा ‘झट्का जस्तो उज्यालो’ देखिन्छ, त्यसैलाई स्पार्क भनिन्छ । विद्युत् लाइनबाट ‘स्पार्क भएर आगोको झिल्का खस्नु’ भन्नाले विद्युत् तार वा उपकरणमा अचानक विद्युत् सर्ट, ढिलो–चाँडो सम्पर्क, तार चुँडिनु, वा अत्यधिक लोडका कारण चिंगारी (स्पार्क) निस्किनु हो । यही चिंगारी वा तातो धातुको सानो टुक्रा तल झर्दा वरिपरिका सुख्खा घाँस, प्लास्टिक, तेलजन्य पदार्थ वा ज्वलनशील वस्तुमा आगो लाग्न सक्छ । आगलागी भएको क्षेत्रको उत्तरतर्फ विमानस्थलको रनवे रहेको छ भने दक्षिणतर्फ नेपाल आयल निगमको इन्धन भण्डारण केन्द्र छ । आगो लागेको स्थान नजिकै बाहिर सडकतर्फ आयल निगमका केही ट्यांकरसमेत पार्किङमा रहेकाले घटना केहीबेर तनावपूर्ण बनेको थियो ।

स्थानीय कर्मचारी र विमानस्थल सुरक्षाकर्मीले आगो देख्नेबित्तिकै नियन्त्रण प्रयास सुरु गरेका थिए । त्यसपछि विमानस्थलको फायर भेहिकल घटनास्थलमा पुगेर आगो निभाएको थियो । करिब पाँचदेखि सात मिनेटभित्र आगो पूर्णरूपमा नियन्त्रणमा आएकाले सम्भावित ठूलो दुर्घटना टरेको हो । विमानस्थल प्रशासनका अनुसार आगलागी फैलिन नपाउँदै नियन्त्रणमा आएकाले कुनै भौतिक तथा मानवीय क्षति भएको छैन । आगलागीका कारण आसपासका सुख्खा घाँस जलेका छन् भने अन्य संरचनामा क्षति पुगेको छैन ।

नेपालगन्ज विमानस्थलका प्रवक्ता दिपेन्द्र रिजालले आगो सामान्य अवस्थामै नियन्त्रणमा आएकाले ठूलो जोखिम हुन नपाएको बताए । उनले विद्युत् लाइनबाट स्पार्क हुँदा ट्रान्सफर्मर आसपासको क्षेत्रमा आगो लागेको जानकारी दिए । ‘आगो ठूलोरूप लिन पाएन । समयमै नियन्त्रणमा आएकाले कुनै ठूलो क्षति भएन,’ उनले भने, ‘आगलागी आसपासका घाँसमा मात्रै सीमित भयो ।’

घटनापछि विमानस्थल क्षेत्रमा केही समय सतर्कता अपनाइएको थियो । सुरक्षाकर्मीले रनवे आसपासको क्षेत्रको निरीक्षण गर्नुका साथै इन्धन भण्डारण क्षेत्रतर्फ थप निगरानी बढाएका थिए । विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा आगलागी भएको घटनाले विद्युत् सुरक्षामा थप सतर्कता आवश्यक रहेको देखिएको छ । विशेषगरी गर्मीयाममा सुख्खा घाँस र उच्च तापक्रमका कारण सामान्य स्पार्कबाट पनि आगलागी फैलिन सक्ने जोखिम रहने भएकाले नियमित निरीक्षण र सुरक्षा तयारीलाई प्राथमिकता दिनुपर्ने स्थानीयले बताएका छन् ।

नेपालगन्ज विमानस्थल पश्चिम नेपालको महŒवपूर्ण हवाई नाका मानिन्छ । दैनिक आन्तरिक उडान सञ्चालन हुने यस विमानस्थलमा आगलागी नियन्त्रण समयमै हुनुले सम्भावित ठूलो दुर्घटना टरेको सरोकारवालाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार