काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण र हिमाली वातावरण संरक्षणलाई आजको अपरिहार्य आवश्यकता भएको बताएका छन् । जलवायु परिवर्तन, बढ्दो तापमान र पर्वतीय क्षेत्रमा फोहोर व्यवस्थापनजस्ता चुनौतीले हिमालको अस्तित्वमै असर पार्न थालेकाले संरक्षणमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे ।
बुधबार आयोजित ‘एभरेस्ट समिटियर्स ब्रेकफास्ट विथ प्रेसिडेन्ट अफ नेपाल’ कार्यक्रममा विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सगरमाथा नेपालको मात्र नभई विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताए । उनले यसको संरक्षण, संवर्द्धन र सन्तुलित उपयोगबाट नेपालको पर्यटन तथा अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुगेको धारणा राखे ।
राष्ट्रपति पौडेलले विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनका असरले हिमाली क्षेत्र प्रभावित बन्दै गएको उल्लेख गर्दै पर्वतारोहणलाई सुरक्षित, दिगो र प्रविधिमैत्री बनाउन थप प्रयास आवश्यक रहेको बताए । उनले सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै जिम्मेवार पर्यटन प्रवर्द्धनमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको स्पष्ट पारे ।
उनले हिमाल र हिमाली पर्यावरण संरक्षणका लागि अन्तर्राष्ट्रिय संवाद, सहकार्य र सचेतना अभिवृद्धिमा यस्ता सम्मेलनको विशेष महत्व रहेको बताए । विश्वभरिका सगरमाथा आरोहीलाई एकै ठाउँमा भेला गराएर हिमाली क्षेत्रका बहुआयामिक विषयमा सार्थक छलफल हुनु सकारात्मक पक्ष भएको उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले आरोहीहरूले आरोहणका क्रममा प्राप्त गरेका अनुभव र ज्ञानले सगरमाथाको प्राकृतिक स्वरूप जोगाउन तथा भावी पुस्ताका लागि हिमाललाई जीवन्त राख्न योगदान पुग्ने विश्वास व्यक्त गरे ।