लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रदेशबाट पनि उपेक्षित बाँके

Author Logo..
२०८३ जेष्ठ १३ गते बुधवार

राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकालगायतका क्षेत्रमा व्यावसायिक कृषि विस्तार भइरहेको अवस्थामा ती सम्भावनालाई प्रदेशस्तरीय रणनीतिसँग जोडिनु आवश्यक थियो । तर नीति तथा कार्यक्रममा स्थानीय तहको नामै उल्लेख गरिएको पाइँदैन । पूर्वाधार र यातायातको सन्दर्भमा पनि बाँकेको भूमिका अपेक्षाअनुसार प्रस्तुत हुन सकेको छैन ।



कोहलपुर, जेठ १३  लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमले कृषि, स्वास्थ्य, पर्यटन, पूर्वाधार, शिक्षा, खेलकुददेखि विपद् व्यवस्थापनसम्मका विविध क्षेत्र समेटेको छ । प्रदेश सरकारले समग्र विकासको महत्त्वाकांक्षी खाका प्रस्तुत गरे पनि पश्चिम नेपालको महत्त्वपुर्ण जिल्ला बाँके जिल्लाको उपस्थिति भने अपेक्षाकृत कमजोर देखिएको छ । प्रदेशको आर्थिक, व्यापारिक, स्वास्थ्य तथा ट्रान्जिट केन्द्रका रूपमा परिचित बाँकेलाई नीति तथा कार्यक्रममा विशेष प्राथमिकताका साथ समेटिने अपेक्षा गरिएको थियो । तर दस्तावेज हेर्दा बाँकेका लागि प्रत्यक्ष र ठोस योजना अत्यन्त सीमित देखिन्छन् ।

प्रदेश सरकारले विभिन्न जिल्लाका पर्यटन, कृषि, सडक तथा पूर्वाधार योजनालाई प्राथमिकताका साथ उल्लेख गरेको छ । तर बाँकेसँग सम्बन्धित प्रत्यक्ष उल्लेख भने मुख्यरूपमा बागेश्वरी मन्दिरको संरक्षण तथा प्रवद्र्धनमा सीमित देखिन्छ । जबकि बाँकेको समग्र सम्भावना हेर्दा यो उपस्थिति निकै न्यून मान्न सकिन्छ । नेपालगन्ज एउटा जिल्ला सदरमुकाम मात्र होइन, पश्चिम नेपालको प्रमुख आर्थिक केन्द्र हो । भारतसँग खुला सीमा जोडिएको जमुनाहा नाका, अन्तरप्रदेशीय व्यापार, स्वास्थ्य सेवा, यातायात पहुँच तथा औद्योगिक सम्भावनाका कारण नेपालगन्जलाई प्रदेशकै रणनीतिक सहर मानिन्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हजारौँ नागरिक शिक्षा, स्वास्थ्य र व्यापारका लागि नेपालगन्जमा निर्भर छन् । तर नीति तथा कार्यक्रममा नेपालगन्जलाई आर्थिक हब, मेडिकल हब वा सीमा व्यापार केन्द्रका रूपमा विकास गर्ने स्पष्ट दीर्घकालीन दृष्टिकोण देखिँदैन ।

प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै अस्पताल स्तरोन्नति, डायलाइसिस सेवा, जलन उपचार, नवजात शिशु सघन उपचार तथा टेलिमेडिसिन सेवा विस्तारको योजना ल्याएको छ । तर पश्चिम नेपालकै प्रमुख उपचार केन्द्रका रूपमा रहेको भेरी अस्पताल वा नेपालगन्ज र कोहलपुरस्थित अन्य स्वास्थ्य संस्थालाई केन्द्रित कुनै विशेष कार्यक्रम भने उल्लेख गरिएको छैन । दाङस्थित राप्ती प्रादेशिक अस्पताललाई दुई सय शैय्यामा स्तरोन्नति गर्ने योजना स्पष्टरूपमा समेटिएको छ । तर बाँकेका स्वास्थ्य संस्थाको भूमिकालाई त्यही स्तरमा प्राथमिकता दिइएको देखिँदैन ।

जबकि नेपालगन्जलाई प्रदेशस्तरीय मेडिकल र रेफरल हबका रूपमा विकास गर्न सकिने सम्भावना अत्यन्त ठूलो छ । कर्णाली र सुदूरपश्चिमका बिरामीको मुख्य उपचार केन्द्र बाँके नै भएकाले यहाँ ट्रमा सेन्टर, विशेषज्ञ उपचार सेवा, मेडिकल शिक्षा तथा अन्तरप्रदेशीय स्वास्थ्य समन्वय कार्यक्रम आवश्यक देखिन्छ । तर नीति तथा कार्यक्रममा ती विषय स्पष्टरूपमा आउन सकेका छैनन् । कृषि क्षेत्रमा पनि प्रदेश सरकारले आधुनिक कृषि, सिँचाइ, बीउ उत्पादन, युवा उद्यमशीलता, पशुपालन तथा दुग्ध उत्पादन विस्तारका कार्यक्रम ल्याएको छ । हुलाकी मार्ग आसपास भैंसी प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने उल्लेखले बाँकेका किसान लाभान्वित हुन सक्ने देखिन्छ । तर बाँकेको कृषि सम्भावना तरकारी उत्पादन, खाद्यान्न, माछापालन, सीमावर्ती कृषि बजार तथा कृषि प्रशोधन उद्योगलाई लक्षित विशेष कार्यक्रम भने समेटिएको छैन ।

राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकालगायतका क्षेत्रमा व्यावसायिक कृषि विस्तार भइरहेको अवस्थामा ती सम्भावनालाई प्रदेशस्तरीय रणनीतिसँग जोडिनु आवश्यक थियो । तर नीति तथा कार्यक्रममा स्थानीय तहको नामै उल्लेख गरिएको पाइँदैन । पूर्वाधार र यातायातको सन्दर्भमा पनि बाँकेको भूमिका अपेक्षाअनुसार प्रस्तुत हुन सकेको छैन । प्रदेश सरकारले सडक सञ्जाल विस्तार, सार्वजनिक यातायातमा जीपीएस र सीसी क्यामेरा जडान, रणनीतिक सडक विकास तथा खेल पूर्वाधार निर्माणका कार्यक्रम अघि सारेको छ । तर नेपालगज्ज–कोहलपुर सडक, जमुनाहा नाका, औद्योगिक क्षेत्र, बसपार्क व्यवस्थापन वा सीमा पूर्वाधार विकासजस्ता बाँकेसँग प्रत्यक्ष सम्बन्धित योजना भने स्पष्टरूपमा उल्लेख गरिएको छैन ।

नीति तथा कार्यक्रम हेर्दा दाङ, रोल्पा, रुकुम, प्युठान, गुल्मी र अर्घाखाँचीजस्ता जिल्लाका विशेष कार्यक्रम बढी प्राथमिकतामा परेको देखिन्छ । कतै कफी खेती, कतै हिमाली पर्यटन, कतै अस्पताल स्तरोन्नति त कतै विशेष सडक आयोजना स्पष्ट रूपमा समेटिएका छन् । यस तुलनामा बाँकेका लागि विशेष योजना निकै कम देखिन्छन् । बाँकेलाई एउटा जिल्ला होइन, पश्चिम नेपालको आर्थिक ‘गेटवे’ का रूपमा हेर्नुपर्ने आवश्यकता छ । भारतसँगको व्यापारिक पहुँच, अन्तरप्रदेशीय यातायात, स्वास्थ्य सेवा, औद्योगिक सम्भावना तथा कृषि बजारका कारण बाँके प्रदेशकै समृद्धिको मुख्य आधार बन्न सक्छ । तर नीति तथा कार्यक्रममा त्यो सम्भावनालाई रणनीतिक रूपमा उपयोग गर्ने दृष्टिकोण पर्याप्त रूपमा देखिएको छैन ।

प्रदेश सरकारले आगामी बजेट तथा कार्यक्रममार्फत बाँकेलाई विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिन्छ । नेपालगन्जलाई आर्थिक तथा मेडिकल हबका रूपमा विकास गर्ने, सीमा व्यापार व्यवस्थापनलाई आधुनिकीकरण गर्ने, कृषि प्रशोधन उद्योग स्थापना गर्ने तथा डुबान र विपद् व्यवस्थापनका दीर्घकालीन योजना ल्याउने हो भने बाँकेको सम्भावनालाई प्रदेशको समृद्धिसँग जोड्न सकिन्छ । समग्रमा, लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा बाँकेको उपस्थिति पूर्ण रूपमा अनुपस्थित त छैन, तर यसको आर्थिक, स्वास्थ्य, व्यापारिक र रणनीतिक महŒवअनुसारको प्राथमिकता भने देखिँदैन । बाँकेलाई प्रदेश विकासको केन्द्रका रूपमा स्थापित गर्न अब नीतिगत तहबाटै स्पष्ट दृष्टिकोण आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार