कोहलपुर गोल्डकप सुरु, रेसिङ साहाराको विजयी सुरुवात

Author Logo..
२०८३ बैशाख २० गते आइतवार

कोहलपुर, बैशाख २० गते ‌ बाँकेको कोहलपुरमा चौथो संस्करणको “कोहलपुर गोल्डकप” फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक रेसिङ साहारा क्लबले पाहुना पञ्चकोशी युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

खेलको २४औँ मिनेटमा रेसिङ साहाराका डिफेन्डर पेपेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको ४४औँ मिनेटमा फागुराम चौधरीले अर्को गोल थप्दै अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा २–० को अग्रता बनाएको रेसिङ साहाराले खेलमा स्पष्ट दबाब कायम राखेको थियो ।

पाहुना टोली पञ्चकोशी युवा क्लबका खेलाडीहरुले खेलभरि केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् । दोस्रो हाफमा भने टोलीले सुधारिएको प्रदर्शन गर्दै आक्रमण बढायो । खेलको ८८औँ मिनेटमा विदेशी खेलाडी कुशाग्र उप्रेतीले सान्त्वना गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका रेसिङ साहारा क्बलका पेपे “म्यान अफ द म्याच” घोषित भए । उनले ट्रफीसँगै नगद रु. ५,००० प्राप्त गरे । बैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु. ८ लाख र उपविजेताले रु. ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फाइनलमा पुग्ने दुई टोलीलाई बाँके राष्ट्रिय निकुञ्ज मा जङ्गल सफारी गराइनेछ । साथै स्थानीय होमस्टेमा मौलिक खानपान र बसोबासको अनुभवसमेत उपलब्ध गराइने योजना रहेको छ ।

कोहलपुर नगरपालिका वडा नं. २ स्थित खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन नगर प्रमुख पूर्ण प्रसाद आचार्यले गरेका थिए ।

आज कर्णाली र नाइजेरियाली टिमबिच खेल हुने

प्रतियोगिताको दोस्रो दिन २० गते जस्ट जोन एफसी (नाइजेरिया) र रोयल फुटबल क्लब (कर्णाली) बिच खेल हुने भएको छ । खेल दिउँसो ४ बजे सुरु हुने प्रतियोगिता संयोजक कर्ण बहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार