चितुवाको आतंकले गाउँ त्रसित

Author Logo..
२०८२ असोज २ गते बिहिवार

सामाजिक जीवनदेखि मानसिक स्वास्थ्यसम्म चितुवाको प्रहार
यो घटना केवल एउटा गाउँको पीडा मात्र होइन, ग्रामीण जीवनको असुरक्षा र राज्यको जिम्मेवारीबारे ठूलो प्रश्न पनि हो । चितुवाको आक्रमणले देखाएको त्रास र राज्यको मौनता दुबै मिलेर गाउँलाई सताइरहेका छन् । ग्रामीण जीवन केवल जीविकोपार्जनको संघर्ष मात्र होइन, असुरक्षासँगको लडाइँ पनि हो भन्ने यो घटनाले फेरि पुष्टि गरिदिएको छ । अब गाउँलेहरूको माग स्पष्ट छ चितुवालाई नियन्त्रणमा लिनुपर्छ, गाउँलाई सुरक्षित बनाउनुपर्छ, र जीवनलाई सामान्य अवस्थामा फर्काउन राज्यले तुरुन्तै ठोस कदम चाल्नुपर्छ ।
राप्तीसोनारी गाउँपालिका–२,
माथेबासस्थित जनमुखी सामुदायिक वन पछिल्ला दिनमा गाउँलेका लागि त्रासको पर्याय बनेको छ । आइतबार राति सोही गाउँपालिका–३, सिनाबासकी ४५ वर्षीया लक्ष्मी थारुलाई चितुवाले आक्रमण गरी ज्यान लिएको खबर फैलिएसँगै गाउँ सन्नाटाले ढाकिएको छ । सामान्यतया दाउरा र घाँस लिन जंगल पस्छन् । तर, लक्ष्मी आफन्त कहाँबाट घर फर्किँदै गर्दा उक्त वनमा निदिएको बताइन्छ । तर त्यो दिन उनी कहिल्यै फर्किन सकिनन् । खोजी गर्दा जंगलभन्दा केही पर उनको शव भेटियो । हातखुट्टा खाइएका अवस्थामा भेटिएको शरीर हेर्दा गाउँले स्तब्ध बने । देखिएको दृश्यले अनुमान लगाउन सकिने कुरा यही हो, ‘चितुवाले सुरुमा उनलाई रुखमा तान्न खोजेको तर सफल नभएपछि केही पर लगेरे खाएको रहेछ । रुखमा भेटिएका कोतर्ने दागले त्यसलाई प्रष्ट संकेत गरेको छ ।’
लक्ष्मीको मृत्युपछि गाउँको दैनिक जीवन नै अस्तव्यस्त भएको छ । यसअघि बेलुकीपख गाउँमा गफगाफ गर्ने, परालको आगो ताप्ने, बालबालिकाले खेल्ने रमाइलो दृश्य हुन्थ्यो । अहिले भने गाउँ सुनसान छ । साँझ परेपछि ढोका बन्द हुन्छन् । मानिसहरू घर बाहिर निस्कन डराउँछन् । तर ढोका बन्द गर्नु मात्र पर्याप्त छैन भन्ने भयले उनीहरूलाई रातभर सताइरहेको छ । कतिपय परिवारले पालैपालो जाग्राम बस्ने गरेका छन् । पुरुषहरू टर्च र लौरो लिएर समूहमा गाउँ वरिपरि घुम्छन् । महिलाले बालबालिकालाई एउटै कोठामा भेला गर्छन् । तर यो सब प्रयासले केवल मनलाई ढाढस दिएको छ, वास्तविक सुरक्षा भने आएको छैन ।
गाउँका बालबालिका त झन् बढी त्रसित भएका छन् । रातभर चिच्याउने, निद्रामा तर्सिने, ‘चितुवा आयो भने के गर्ने ?’ भनेर सोध्ने अवस्था सामान्य भइसकेको छ । विद्यालय जाने बालबालिकाको ध्यान पढाइमा छैन । उनीहरू डरले घरमै बस्छन् । सरिता थारु भन्छिन्, ‘अब त बालबालिकाको मानसिक स्वास्थ्यमै असर परेको छ । दिनभर उदास हुन्छन्, रातभर कराउँछन् ।’ वृद्धवृद्धाको समस्या पनि गम्भीर छ । हृदय रोग भएका, रक्तचापका बिरामीहरूमा त्रासले अवस्था झन् बिगारेको छ । गाउँलेहरूको दैनिकी चितुवाको आतंकसँगै भत्किएको छ । जंगलमा दाउरा लिन कोही जान चाहँदैन । दाउरा नपाउँदा खाना पकाउन गाह्रो भएको छ । घाँस नपाउँदा पशु भोकाएका छन् । दूध उत्पादन घटेको छ । गोठालो पठाउन सकिँदैन । खेतमा काम गर्ने समय घटेको छ । बेलुकीसम्म खेतमै बस्ने गाउँलेहरूको बानी अब हराइसकेको छ । अँध्यारो हुनासाथ सबै घरतिर फर्कन्छन् । यसरी खेतीपाती र पशुपालनमा परेको असरले गाउँको आर्थिक जीवनमै संकट ल्याएको छ ।
सुरक्षाको खोजीमा गाउँलेहरूले आफ्नै प्रयास गरेका छन् । रातभर पालैपालो बस्ने, निगरानी गर्ने, समूहमा हिँड्ने काम बढेको छ । तर गाउँलेहरूलाई थाहा छ, यसरी लौरो र टर्चले चितुवासँग सामना गर्न सकिँदैन । उनीहरू भन्छन्, ‘हामीसँग हतियार छैन, चितुवालाई नियन्त्रण गर्ने सीप पनि छैन । तर चुप लागेर बस्दा अझ बढी डर लाग्छ, त्यसैले कम्तीमा सँगै भेला हुन्छौँ ।’ यस घटनापछि राज्यको मौनता ठूलो प्रश्न बनेको छ । गाउँलेहरूले वन कार्यालय, स्थानीय प्रशासन र सम्बन्धित निकायलाई पटकपटक खबर गरेका छन् । तर अहिलेसम्म ठोस कदम चालिएको छैन । ‘मानिस मरेर पनि सरकार मौन बस्छ भने हामीलाई कोले बचाउने ?,’ गाउँलेहरूको गुनासो छ । वन विभागका कर्मचारी केही दिन आएर फर्किने गरेका छन् तर चितुवा नियन्त्रण गर्ने ठोस पहल भएको छैन । गाउँलेहरू भन्छन्, ‘चितुवा गाउँमै फन्को मार्छ, अर्को शिकार खोज्छ भन्ने डरले हामी दिनरात असुरक्षित बनेका छौँ ।’ गाउँलेहरुका अनुसार आइतबारदेखि नियमितरुपमा चितुवा गाउँमा देखिएको छ ।
विशेषज्ञहरू भन्छन्, चितुवा बस्ती नजिक आउनु भनेको जंगलमा आहाराको कमी वा मानिसको क्रियाकलाप बढ्नु हो । तर यस्तो अवस्थामा तुरुन्तै नियन्त्रण उपाय चाल्न ढिला गर्नु गम्भीर समस्या हो । लक्ष्मी थारुको मृत्यु पहिलो घटना होइन । बेलाबेला बाघले आक्रमण गर्छ । यस्ता घटनापछि पनि दीर्घकालीन समाधान खोजिएको छैन । वन्यजन्तु नियन्त्रण गर्ने सरकारी संयन्त्र ढिलो सक्रिय हुन्छ, जनचेतना कार्यक्रम कम हुन्छ र गाउँलेहरूको सुरक्षाका लागि दीर्घकालीन रणनीति बन्न सकेको छैन । गाउँमा अहिले सामाजिक जीवन नै अस्तव्यस्त भएको छ । विवाह, उत्सव, मेलापात रोकिएका छन् । गाउँमा चहलपहल हराएको छ । मानिसहरू समूहमा मात्र बाहिर निस्कन्छन् । सामाजिक गतिविधि र रमाइलो जीवन हराइसकेको छ । गाउँका वृद्ध किसान भन्छन्, ‘अब त गाउँमै कैद भएको जस्तो छ । खेलकुद छैन, रमाइलो छैन । डर मात्र छ ।’
यसरी चितुवाको आतंकले गाउँको जीवन मात्र होइन, मानसिक अवस्था पनि तहसनहस बनाएको छ । तर त्यसभन्दा ठूलो समस्या भनेको राज्यको मौनता हो । गाउँलेहरूको पीडा र गुनासो स्पष्ट छ, ‘हामीलाई चितुवाले मात्र होइन, सरकारको बेवास्ताले पनि मारिरहेको छ ।’ लक्ष्मी थारुको मृत्युले गाउँमा ठूलो घाउ छाडेको छ । तर त्यो घाउ अझै बल्झिरहेको छ, किनकि चितुवा अझै नियन्त्रणमा आएको छैन । गाउँलेहरूका लागि अहिले सबैभन्दा ठूलो चिन्ता आफ्ना बालबालिकाको भविष्य हो । उनीहरू भन्छन्, ‘हाम्रो सुरक्षाभन्दा ठूलो कुरा अरू केही छैन । सरकार तुरुन्तै कदम चालोस्, होइन भने हामीलाई गाउँ छोड्नुपर्ला ।’ यो घटना केवल एउटा गाउँको पीडा मात्र होइन, ग्रामीण जीवनको असुरक्षा र राज्यको जिम्मेवारीबारे ठूलो प्रश्न पनि हो । चितुवाको आक्रमणले देखाएको त्रास र राज्यको मौनता दुबै मिलेर गाउँलाई सताइरहेका छन् । ग्रामीण जीवन केवल जीविकोपार्जनको संघर्ष मात्र होइन, असुरक्षासँगको लडाइँ पनि हो भन्ने यो घटनाले फेरि पुष्टि गरिदिएको छ । अब गाउँलेहरूको माग स्पष्ट छ चितुवालाई नियन्त्रणमा लिनुपर्छ, गाउँलाई सुरक्षित बनाउनुपर्छ, र जीवनलाई सामान्य अवस्थामा फर्काउन राज्यले तुरुन्तै ठोस कदम चाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार