महरासहित उच्च भन्सार अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

Author Logo..
२०८२ चैत्र २७ गते शुक्रवार

काठमाडौं, चैत २७  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भित्रयाइएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा सहित उच्च तहका भन्सार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले करिब साढे ८ किलो सुन भेप (विद्युतीय चुरोट) भित्र लुकाएर तस्करी गरिएको र त्यसलाई नियोजित रूपमा हिनामिना गरिएको ठहर गर्दै ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र पेश गरेको हो । अनुसन्धानअनुसार चिनियाँ नागरिक ली हाङ सोङले २०७९ पुस १० गते फ्लाई दुबईको उडानमार्फत ७३० थान भेपभित्र सुन लुकाएर नेपाल भित्र्याएका थिए । भन्सारको एक्स–रे जाँचका क्रममा शंकास्पद वस्तु देखिएपछि सामान रेड च्यानलमा पठाइएको थियो । तर, त्यही क्रममा भन्सार कर्मचारी र तस्करबीच मिलेमतो भई सुन बरामद नगरी गोदाममा राखिएको पाइएको छ ।

अख्तियारका अनुसार गोदाममा राखिएको उक्त सामान पछि योजनाबद्ध रूपमा निकालिएको थियो । सीसीटीभी नभएको स्थान प्रयोग गरी सुन निकालेर नक्कली भेप राखिएको र वास्तविक सुन काठमाडौंका व्यापारीमार्फत बजारमा बिक्री गरिएको अनुसन्धानबाट खुलेको छ । यस प्रकरणमा विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृतद्वय मुक्तिप्रसाद श्रेष्ठ र अम्बिकाप्रसाद खनाललाई मुख्य अभियुक्त बनाइएको छ । साथै अन्य भन्सार अधिकृत, नायब सुब्बा र सुरक्षागार्डसमेत संलग्न रहेको भन्दै उनीहरुविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

पूर्वसभामुख महरा र उनका छोरा राहुल भनिने रेशम महरालाई मतियारका रूपमा अभियोग लगाइएको छ । उनीहरूले भन्सार कर्मचारीलाई प्रभावमा पारेर सुन छुटाउन भूमिका खेलेको अख्तियारको दाबी छ । यसैगरी, विदेशी नागरिकहरू तथा विभिन्न व्यवसायीहरूलाई समेत सुन बिक्री र रकम व्यवस्थापनमा संलग्न देखिएको भन्दै प्रतिवादी बनाइएको छ । डेक्सटर ट्राभल्स एन्ड टुर्स प्रालिको खातामा समेत अवैध रकम जम्मा भएको पाइएको आयोगले जनाएको छ ।

अख्तियारले सबै प्रतिवादीबाट बिगो असुलीका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको माग गरेको छ । साथै मुख्य अभियुक्त अरुण पोखरेललाई पदको दुरुपयोग गरेको भन्दै थप सजाय माग गरिएको छ भने महरासहितका मतियारलाई मुख्य कसुरदारसरह सजाय हुनुपर्ने दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार