बाँकेमा ४१ डिप बोरिङबाट १२ सय हेक्टरभन्दा बढी जमिनमा सिँचाइ

Author Logo..
२०८२ चैत्र २७ गते शुक्रवार

बाँके, चैत २७  बाँके जिल्लामा भूमिगत जलस्रोतको उपयोग गर्दै सिँचाइ सुविधा विस्तार गर्ने प्रयास क्रमशः प्रभावकारी बन्दै गएको छ । हाल जिल्लामा जडान गरिएका डिप बोरिङमध्ये ४१ वटा सञ्चालनमा रहेर एक हजार दुई सय ७१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याइरहेको तथ्य सार्वजनिक भएको छ । यसले वर्षा निर्भर खेती प्रणालीबाट किसानलाई क्रमशः मुक्ति दिलाउँदै वर्षभरि उत्पादन गर्न सक्ने आधार तयार पारिरहेको देखिन्छ ।

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेका अनुसार सञ्चालनमा रहेका यी डिप बोरिङहरू कृषकका लागि वैकल्पिक सिँचाइ स्रोतका रूपमा महत्वपुर्ण साबित भइरहेका छन् । कार्यालयका सूचना अधिकारी मधु न्यौपानेका अनुसार एउटा डिप बोरिङबाट औसतमा करिब ३० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने गरेको छ । यस आधारमा अहिले सञ्चालनमा रहेका ४१ बोरिङले ठूलो क्षेत्रफल ओगटेका खेतीयोग्य जमिनमा पानी उपलब्ध गराइरहेका छन् ।

बाँके जिल्लामा सिँचाइको दीर्घकालीन समाधानका लागि राष्ट्रिय गौरवको आयोजनाका रूपमा सिक्टा सिँचाइ आयोजना सञ्चालनमा छ । ४२ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित निर्माण भइरहेको उक्त आयोजनाले जिल्लाको कृषि उत्पादन प्रणालीमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । तर, आयोजनाको संरचना अझै पूर्णरूपमा सबै क्षेत्रमा नपुगेको अवस्थामा डिप बोरिङहरू पूरक समाधानका रूपमा अघि सारिएका हुन् ।

कार्यालयका अनुसार सिक्टा सिँचाइ आयोजनाले नछोएका तथा तत्काल सिँचाइ सुविधा आवश्यक भएका स्थानहरूमा प्राथमिकताका साथ डिप बोरिङ जडान गरिँदै आएको छ । यसले विशेषगरी साना तथा मध्यम किसानलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ । परम्परागत रूपमा वर्षामा निर्भर रहेका किसानहरू अहिले बोरिङको सहायताले हिउँदे तथा बेमौसमी बालीसमेत उत्पादन गर्न सक्षम भएका छन् ।
यस्तै, स्थानीय तहहरूका कृषि शाखा तथा संघीय सरकारले पनि सिँचाइ विस्तारका लागि सहकार्य गर्दै आएका छन् । विभिन्न पालिकाहरूले आफ्नो बजेटमार्फत सिँचाइ सुविधा नपुगेका क्षेत्रमा डिप बोरिङ जडान कार्यक्रम सञ्चालन गरिरहेका छन् । यसले ग्रामीण भेगका किसानहरूमा उत्साह थपेको छ भने उत्पादन वृद्धि तथा आम्दानी बढाउन मद्दत पुगेको छ ।

कृषकहरूका अनुसार डिप बोरिङ जडान भएपछि खेतमा पानीको अभाव कम भएको छ । समयमै सिँचाइ गर्न पाउँदा बाली उत्पादनमा सुधार आएको छ भने खेतीप्रति आकर्षण पनि बढेको छ । पहिले वर्षाको भरमा खेती गर्दा हुने अनिश्चितता अहिले घट्दै गएको उनीहरूको अनुभव छ ।

तर, केही स्थानमा विद्युत् आपूर्ति, मर्मतसम्भार तथा व्यवस्थापनका समस्या पनि देखिएका छन् । दीर्घकालीन रूपमा डिप बोरिङ सञ्चालनलाई प्रभावकारी बनाउन नियमित अनुगमन, प्राविधिक सहयोग र किसानको सहभागिता आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।

समग्रमा, बाँकेमा डिप बोरिङमार्फत सिँचाइ सुविधा विस्तारले कृषिमा सकारात्मक प्रभाव पारेको छ । सिक्टा सिँचाइ आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि अझ व्यापक क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिए पनि हालका लागि डिप बोरिङहरूले किसानलाई महŒवपूर्ण सहारा प्रदान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार