भेरी–बबई बहुउद्देश्यीय आयोजना अझै अधुरो

Author Logo..
२०८२ चैत्र २३ गते सोमवार

बाँके, चैत २३  राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजना अझै आधा पनि पूरा हुन सकेको छैन । आयोजना सुरु भएको करिब १० वर्ष पुग्दा पनि भौतिक निर्माणको प्रगति ५७ प्रतिशत मात्रै पुगेको छ । निर्माण व्यवसायीले तेस्रो पटकको म्याद सकिएको शुक्रबार भए पनि अझै परियोजना पूरा गर्न साढे तीन वर्ष थप समय माग गरेका छन्‌ ।

२०७६ साउनमा ठेक्का सम्झौता भएको भेरी–बबई आयोजनामा बाँध, विद्युत गृह र सुरुङमार्ग निर्माणको जिम्मेवारी नेपाली कम्पनी रमण कन्स्ट्रक्सन र चीनको ग्वाङ्डोन–युनाटियन जेभीले पाएका थिए । सम्झौताअनुसार चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य थियो । तर विश्वव्यापी कोभिड–१९ महामारी, डिजाइन रिभ्युमा ढिलाइ, वर्षा र निर्माण क्षेत्रको कठिन भू–भाग जस्ता कारणले काम सुस्त गतिमा छ । आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाका अनुसार, हालसम्म वित्तिय प्रगति ४७ प्रतिशत मात्र छ । ‘ठेकेदारले साढे तीन वर्षभित्र काम सम्पन्न गर्ने प्रतित्रद्धता जनाएका छन्‌ । पछिल्लो समयमा काम नियमित रूपमा अघि बढिरहेको देखिन्छ,’ उनले बताए ।

ठेक्का सम्झौता अनुसार पहिलो चार वर्षमा सम्पन्न हुनुपर्ने आयोजना २०८० मंसिरमा कोभिडका कारण एक वर्ष थपिएको थियो । दोस्रो र तेस्रो म्याद थप गर्दा पनि काम अधुरो रहेको रमन कन्स्ट्रक्सनले औंल्याएको छ । कम्पनीका इन्जिनियर हिक्मत लम्सालले भने, ‘डिजाइनमा ढिलाइ र इन्सुरेन्स–बैंक ग्यारेण्टीको समस्याले काम ढिलो भएको हो, नयाँ समय पाउँदा निर्माण सम्पन्न गर्न सकिन्छ ।’ आयोजनामा ढिलाइ हुनुमा डिजाइन परिवर्तन, परामर्शदाता कम्पनीको बदलाब र कठिन भू–भागमा पावरहाउस निर्माण गर्नुपर्ने चुनौती पनि रहेका छन्‌ । सुरुवाती दुई वर्ष इरानी परामर्शदाताले काम गरे पनि अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण सम्झौता तोडिएको थियो । अहिले नेपाल विद्युत प्राधिकरण अन्तर्गतको एनइए इन्जिनियरिङ कम्पनी परामर्शदाताको जिम्मेवारीमा छ ।

आयोजना १२ किलोमिटर लामो सुरुङमार्गमार्फत भेरी नदीको पानी बबई नदीमा फ्याँक्ने र ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ । साथै, ४६ मेगावाट विद्युत उत्पादन गर्ने योजना पनि यसअन्तर्गत छ । हालसम्म सार्वजनिक गरिएको तथ्यांकअनुसार, फागुन महिनासम्म आयोजनाको कुल प्रगति ६९.७१ प्रतिशत रहेको छ । तर सिभिल, इलेक्ट्रिकल र हाइड्रो–इलेक्ट्रिकल कामहरू आपसमा निर्भर हुने भएकाले सिभिल वर्क ढिलाइ हुँदा बाँकी काम पनि प्रभावित हुन्छ ।

ठेक्का विवादास्पद कम्पनीले पाएको र काम ढिलो भएको कारण भेरी–बबई आयोजना पूरा हुनेमा चौथो म्यादपछि पनि शंका बढेको छ, र स्थानीय किसान तथा विकास विज्ञहरूले तत्काल समाधानको माग गर्दै आएका छन्‌ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार