
दाङ, चैत २२ तुलसीपुर उपमहानगरपालिकाले नगरभित्र रहेका पर्यटकीय सम्भावनालाई व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यसहित पहिलोपटक एकीकृत अभिलेखीकरण प्रक्रिया सुरु गरेको छ । लामो समयदेखि धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेका स्थलहरूको आधिकारिक विवरण अभावमा पर्यटन क्षेत्र ओझेलमा पर्दै आएको अवस्थामा उपमहानगरपालिकाले यसलाई प्राथमिकतामा राख्दै काम अघि बढाएको हो ।
पर्यटन प्रवर्धन शाखाले करिब दुई महिनाअघि सबै वडालाई पत्राचार गर्दै आफ्नो क्षेत्रभित्र रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा मानव निर्मित पर्यटकीयस्थलको विवरण उपलब्ध गराउन आग्रह गरेको थियो । सोहीअनुसार अहिले सबै वडाबाट प्रमाणसहितका विवरण संकलन भइसकेको छ । संकलित विवरणअनुसार तुलसीपुर क्षेत्रमा कुल १०१ पर्यटकीयस्थल रहेको तथ्यांक सार्वजनिक भएको छ । यीमध्ये मन्दिर, गुम्बा, ऐतिहासिक दरबार क्षेत्र, गुफा, झरना, उद्यान तथा जलाशयहरू समावेश छन् । पछिल्लो समय राप्ती शान्ति उद्यानले देशभरबाट आन्तरिक पर्यटक आकर्षित गर्दै तुलसीपुरलाई नयाँ गन्तव्यका रूपमा चिनाउन थालेको छ । यसबाहेक थर्कोट लेख, सिद्ध चमेरे गुफा, थारु राजा दंगीशरणको दरबार क्षेत्र, जन्ती ढुंगा र छिल्लीकोटजस्ता स्थानले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका छन् ।
त्यस्तै, विभिन्न जलाशयहरू पनि आन्तरिक पर्यटनको केन्द्र बन्दै गएका छन् । जम्मुचिरा, कात्तिके, गौरी ताल, फूलबारी लेकसाइड र खौसापुर जलाशयमा दैनिकजसो घुमफिर, मनोरञ्जन तथा डुंगा सयरका लागि आउनेहरूको संख्या बढ्दै गएको छ । यद्यपि पर्याप्त प्रचारप्रसार र व्यवस्थापन अभावका कारण यस्ता धेरै सम्भावना बोकेका स्थलहरू अझै पनि ओझेलमै छन् । पर्यटन शाखा प्रमुख झरेन्द्र खरेलका अनुसार यसअघि आधिकारिक अभिलेख अभावले योजना निर्माण र बजेट विनियोजनमा समस्या हुँदै आएको थियो । ‘कुन स्थान कति महत्त्वपूर्ण छ भन्ने स्पष्ट तथ्यांक नहुँदा आवश्यकता अनुसार योजना बनाउन कठिन भएको थियो,’ उनले भने, ‘अब भने तथ्यांक संकलन भइसकेकाले प्राथमिकताका आधारमा विकास योजना अघि बढाइनेछ ।’
उपमहानगरपालिकाले आगामी दिनमा सबै पर्यटकीयस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी संरचना निर्माण, मर्मतसम्भार, व्यवस्थापन र प्रचारप्रसारलाई एकीकृत ढंगले अघि बढाउने तयारी गरेको छ । उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले पर्यटन क्षेत्रलाई अब एकद्वार प्रणालीमार्फत सञ्चालन गरिने बताए । उनका अनुसार विगतमा विभिन्न निकायबाट छुट्टाछुट्टै बजेट ल्याउने प्रवृत्तिले दोहोरोपन बढाएको थियो । ‘अब सबै पर्यटकीय तथा धार्मिक स्थल स्थानीय सरकारको मातहतमा ल्याइनेछ,’ उनले भने, ‘यसले स्रोतसाधनको प्रभावकारी उपयोग र पारदर्शिता सुनिश्चित गर्नेछ ।’
तुलसीपुर उपमहानगरपालिकाले पर्यटन क्षेत्रलाई व्यवस्थित, योजनाबद्ध र दीगो रूपमा विकास गर्ने लक्ष्यसहित सुरु गरेको यो पहलले स्थानीय आर्थिक गतिविधि चलायमान बनाउनुका साथै क्षेत्रीय पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।