एसईईका नक्कली परीक्षार्थी पक्राउ

Author Logo..
२०८२ चैत्र २० गते शुक्रवार

हेटौंडा, २० चैत  माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी रोडस्थित सोलिडारिटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा सन्दिग्ध देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा सिन्धुली मरिण गाउँपालिका–४ घर भई हाल हेटौंडा–४ बस्दै आएका करिब १८ वर्षीय विराज बिकी रहेका छन्।

प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार बिकीले अर्काको नाममा जारी गरिएको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनी हाल हेटौंडा स्कूल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत रहेका छन्।

बिकीले हेटौंडा–१२ पदमपोखरीका अंकिश श्रेष्ठको नाममा जारी प्रवेशपत्र प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा अंकिश श्रेष्ठलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले परीक्षामा अनुचित कार्यमा संलग्न जो–कोहीलाई कडा कारबाही गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार