अनुदानको मलमा खुलेआम कालोबजारी

Author Logo..
२०८२ पुष ७ गते सोमवार

बाँके, पुस ७ सरकारले किसानका लागि उपलब्ध गराएको अनुदानको मल अवैधरूपमा भण्डारण गरी कालोबजारी गर्ने धन्दामा संलग्न एक व्यक्तिलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका– १०, पचेहरास्थित मनोज किराना पसलमा लुकाइछिपाई राखिएको १०२ बोरा अनुदानको मलसहित पसल सञ्चालकलाई नियन्त्रणमा लिइएको छ ।

अवैध मल भण्डारण गरिएको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी निरीक्षक सुवास खतिवडाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त टोलीले छापा मारेको थियो । १ लाख ३६ हजार चार सय रुपैयाँ मूल्यको ६२ बोरा डिएपी र ३० हजार दुई सय मूल्यको ४० बोरा युरिया गरी कुल एक लाख ६६ हजार ६ सय रुपैयाँको मलसहित सञ्चालक गोरखनाथ बनियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय कपिलवस्तु जिल्लामा अनुदानको मल अभाव सिर्जना गराई कालोबजारी र अवैध भण्डारणका घटना बढ्दै गएको भन्दै प्रहरीले निगरानी कडा पारेको थियो ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले भने, ‘किसानलाई सहुलियतमा उपलब्ध गराइने अनुदानको मल लुकाएर राख्नु गम्भीर अपराध हो, यस्ता कार्यले कृषक मारमा पर्छन् । नियन्त्रणमा लिइएका व्यक्ति र बरामद मललाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।’

कपिलवस्तु प्रहरीका अनुसार अनुदानको मलको अवैध कारोबारमा संलग्न जो–कोहीलाई नछोड्ने चेतावनी दिँदै सर्वसाधारणलाई पनि यस्ता गतिविधिको सूचना दिन आग्रह गरेको छ । उक्त अनुदानको मल अर्घाखाँचीको मालारानी गाउँपालिका– ६ स्थित किसान कृषि सहकारी संस्था लिमिटेडले बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार