
दाङ, मंसिर २१ दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिकलसेल एनिमियाको परीक्षण थालेको छ । प्रतिष्ठानमा सिकलसेल जाँच्ने मेसिन भित्रिएपछि पहिलो पटक ठूलो संख्यामा परीक्षण गर्न लगिएको प्रतिष्ठानका रजिस्ट्रार श्याम लम्सालले जानकारी दिए ।
उनका अनुसार यो परीक्षण अभियान आजदेखि शुरूआत गरिएको छ । दाङका दश वटै पालिकाका जनप्रतिनिधिसँगको छलफलमा प्रतिष्ठानले झन्डै ५ हजार जनामा सिकलसेन एनिमियाको परीक्षण गर्ने जानकारी समेत गराएको छ ।
प्रतिष्ठानले सिकलसेल एनिमिया भएका ३ सय १५ जनालाई औषधि उपचार सेवा प्रदान गर्दै आएको छ । एक वर्षदेखि ६५ वर्ष उमेरसम्मकोमा सिकलसेल एनिमिया भेटिएको छ । त्यस्तै एकै घरका चार जना परिवारमा पनि सिकलसेल देखिएको छ । विशेषगरी यो रोग थारु समुदायमा जटिल समस्याका रुपमा रहेको छ ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थिले प्रतिष्ठानले सिकलसेल एनिमिया परीक्षणको थालनी गरेसँगै अब जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने र उपचारमा पनि सहजता हुने बताउनुभयो । सरकारले बेला–बेलामा दाङमा सिकलसेल एनिमियाको निःशुल्क परीक्षण र उपचार गर्दै आए पनि यसलाई नियमित गर्न सकिरहेको छैन ।
कुनै बिरामीमा सिकलसेल एनिमिया पाइएमा एक लाख रूपैयाँसम्मको निःशुल्क औषधी उपचार गरिने प्रतिष्ठानले जनाएको छ । सिकलसेल एनिमियाबाट व्यक्तिको रक्तकोषको आकार हसियाँ जस्तो हुने डाक्टरले बताएका छन् । कोषको आकार परिवर्तन भएर बाङ्गो हुँदा रक्त सञ्चारमा अवरोध आउँछ ।