धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यति एयर

Author Logo..
२०८२ असोज ४ गते शनिवार

कोहलपुर, असोज ४

विगत ११ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य हुने भएको छ । मंसीर ६ गते शनिबार हुने ११औँ संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो ।
यति एयरलाइन्सका बिजनेस डेभलपमेन्ट अफिसर युवराज बिष्ट र धारा नेपालगन्ज म्याराथनका प्रोगाम म्यानेजर कपिल थापाले सम्झौतापत्र आदानप्रदान गरे । यो सम्झौतासँगै यति एयरलाइन्स धारा नेपालगन्ज म्याराथनको अफिसियल एयरलाइन्स पार्टनर हुनेछ । वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को पुर्णकालीन सदस्य धारा नेपालगन्ज म्याराथनका विजेता एवम् शीर्ष नेपाली धावकहरुलाई विश्वकै शीर्ष म्याराथनहरुमा सहभागिताको अवसर प्रदान गर्ने वातावरण बनाउँदै अगाडि बढेको एम्सका नेपाल प्रतिनिधि एवम् धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताएका छन् ।

नेपालगन्ज म्याराथनले इभेन्टको दायरा फराकिलो बनाउन र सबैलाई अपनत्व भाव जगाउन फरकफरक संस्थासँग सहकार्य गदैं अघि बढेको छ । यसअघि थाइल्याण्डमा हुने विश्वस्तरीय बाङ्सेन रनिङ सिरिजिमा धावक, पदाधिकारी तथा सदस्यहरुका लागि अनुभव बटुल्ने र क्षमता अभिवृद्धि गर्ने अवसर दिनका लागि सम्झौता गरेको छ । यसले बर्सेनि दर्जनौं धावक तथा म्याराथनको उत्थानमा अहोरात्र खटिने व्यक्तिहरुलाई अवसरको ढोका खोलिदिएको छ । अन्य स्वदेशी तथा विदेशी संघसंस्था, म्याराथन आयोजक, व्यापारिक घराना, खेलकुद सामग्री उत्पादक तथा वितरक कम्पनीहरुसँग सहकार्य गर्दै अघि बढ्ने तयारी रहेको धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए ।

‘धारा नेपालगन्ज म्याराथन धावकका लागि त हो नै, समुदायका हरेक सदस्य लाभान्वित हुने प्लेटफर्म हो,’ संस्थापक ठकुरीले भने, ‘यसका हरेक सदस्यले वैदेशिक भ्रमणको अवसर पाउनुका साथै यति एयरलाइन्सको सहुलियत टिकट पाउनेछन्, सम्झौता हुने खेलुकद सामग्री उत्पादक तथा वितरकबाट पनि हरेक सदस्यले विशेष सहुलियत पाउने व्यवस्था मिलाइनेछ ।’

नेपालगन्ज कनक्लेवका लागि विभिन्न पेशागत एवम् व्यावासायिक संघसंस्थासँग सहकार्य गर्ने तयारी समेत अगाडि बढेको छ । म्याराथनको तयारीबारे चाँडै सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार