अनुसन्धानमा अब्बल एसपी जिसीलाई बाँकेको सुरक्षा ‘कमाण्ड’ को जिम्मा

Author Logo..
२०८२ असोज ३ गते शुक्रवार

कोहलपुर, असोज ३ 

बाँके जिल्लामा सुरक्षा नेतृत्व फेरबदल गरिएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार साँझ गरेको सरुवा निर्णयअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद घर्तीलाई अन्यत्र सरुवा गरी उनको ठाउँमा अंगुर जिसीलाई जिम्मेवारी दिइएको हो ।

यसअघि बाँकेमा कमाण्ड सम्हाल्दै आएका एसपी घर्तीको स्थानमा नियुक्त भएका एसपी अंगुर जिसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अपराध अनुसन्धान शाखामा कार्यरत थिए । लामो समयदेखि अनुसन्धान क्षेत्रमा काम गर्दै आएका जिसीलाई प्रहरी संगठनभित्र अपराध अनुसन्धानमा अब्बल र सक्रिय अधिकृतका रूपमा चिनिन्छ ।
बाँके जिल्लाको भौगोलिक अवस्था, सीमा नजिकको संवेदनशीलता र अपराधजन्य चुनौतीलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले नयाँ कमाण्ड पठाएको बुझिएको छ । जसले जिल्लामा अपराध नियन्त्रण, नाकासुरक्षा र शान्ति–सुरक्षामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ । बाँकेमा पटकपटक चोरी, लागुऔषध कारोबार, तस्करीजस्ता मुद्दा चुनौती बनेका छन् । यस्ता घटनामा नियन्त्रण तथा प्रभावकारी अनुसन्धान गर्न सक्षम नेतृत्वको आवश्यकता रहेको भन्दै प्रहरी संगठनले अनुभवसहितका अधिकृतलाई जिम्मेवारी दिएको हो ।

नयाँ प्रहरी प्रमुखको रूपमा बाँके आउन लागेका एसपी अंगुर जिसीले जिल्लाको सुरक्षालाई अझ मजबुत बनाउन रणनीतिक ढंगले काम गर्ने विश्वास गरिएको छ । उनको नेतृत्वमा आपराधिक गतिविधि नियन्त्रणसँगै स्थानीय स्तरमा शान्तिसुरक्षाको वातावरणलाई सबल बनाउन थप प्रयास हुने अपेक्षा गरिएको छ । बाँकेमा सुरक्षा कमाण्ड परिवर्तनसँगै स्थानीयवासीले पनि अपराध नियन्त्रण र सुरक्षामा सकारात्मक परिणाम आउने आशा राखेका छन् । प्रहरी प्रधान कार्यालयले एकैसाथ अन्य जिल्लामा पनि सुरक्षा नेतृत्वमा फेरबदल गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार