वन्यजन्तु जोगाउन गस्तीमा युवा

Author Logo..
२०८२ भाद्र ३१ गते मङ्गलवार

बर्दियाको मधुवन नगरपालिकाका युवाहरूले रातमा पैदल गस्ती गर्ने गरेका छन् । चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानमा युवाहरूले रातमा पैदल गस्ती गर्ने गरेका हुन् ।मध्यवर्ती क्षेत्रसँग सिमाना जोडिएको ठाउँमा वन्यजन्तुको चोरी सिकार र अवैध गतिविधि हुन नदिन युवाहरूले गस्ती गर्दै आएका छन् । चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान, बर्दिया राष्ट्रिय निकुञ्ज र नेपाली सेनालगायतको टोलीले निकुञ्जआसपासमा गस्ती गर्दै आएको छ । युवा परिचालन अभियानमा आबद्ध युवाले सामुदायिक वन, मध्यवर्ती क्षेत्र र निकुञ्जमा कसैले शंकास्पद गतिविधि गरेमा निकुञ्ज र नेपाली सेनालाई खबर गर्ने गरेका छन् ।

चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान उपसमिति सूर्यपटुवाका अध्यक्ष गोविन्द थारूले खाता करिडोरमा गस्ती गरिएको बताए । ‘करिडोरको बाटो भएर बाघ, हात्ती, गैँडा आवतजावत गर्ने भएको हुँदा वन्यजन्तुको सुरक्षा र अवैध गतिविधि नहोस् भनेर गस्ती गरिएको हो,’ उनले भने, ‘वन्यजन्तुको गतिविधि बढी हुने मधुवन नगरपालिका १ र २ मा पैदल गस्ती गरिएको हो ।’ वन्यजन्तुको संरक्षण गर्नमा स्थानीयको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । वन्यजन्तुका कारण बर्दिया विश्व समुदायमाझ परिचित हुँदै गएको छ भने चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानले गरेको कामबारे अध्ययन गर्न पछिल्लो समयमा विदेशी नागरिकहरूसमेत आउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार