
कोहलपुर, भदौ ३०
कोहलपुर नगर कार्यपालिकाले हालैको जेन–जेड समूहको आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटप्रति खेद व्यक्त गर्दै दोषीहरूलाई कडाभन्दा कडा कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकमा आन्दोलनका क्रममा नगरपालिकाको कार्यालय, वडा कार्यालय, नगर प्रमुख तथा उपप्रमुखको निजी निवास, साथै अन्य सरकारी कार्यालयमा व्यापक क्षति पुगेको तथ्यलाई गम्भीररूपमा लिइएको छ । नगर कार्यपालिकाले यस प्रकारका अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने उद्देश्यले सम्बन्धित न्यायिक तथा प्रशासनिक निकायसँग आवश्यक कदम चाल्ने तयारी थालेको जनाएको छ । नगर कार्यपालिकाका पदाधिकारीहरूले भने कि, ‘स्थानीय प्रशासन र जनताको सेवामा भएको क्षतिको न्यायोचित मूल्यांकन र दोषीको खोजी कारबाही सुनिश्चित गर्न तत्काल प्रभावकारी पहल गरिनेछ ।’
निर्णयअनुसार, घटनास्थलमा भएका क्षतिको विवरण संकलन गरी आवश्यक प्रमाणसहित सम्बन्धित निकायमा पठाउने प्रक्रिया सुरु गरिनेछ । यसले भविष्यमा यस्ता घटना दोहोरिन नपरोस् भनी चेतावनीस्वरूप पनि काम गर्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ । कोहलपुर नगरपालिकाले यस कदममार्फत स्थानीय प्रशासनको सुरक्षा र सुचारु सेवा प्रवाह सुनिश्चित गर्न प्रयास तीव्र पार्ने जनाएको छ ।