डेढ वर्षसम्म पनि बनेन भेरी अस्पतालको सिटी स्क्यान

Author Logo..
२०८२ भाद्र २० गते शुक्रवार

भेरी अस्पतालका प्राविधिक र चिकित्सकहरू वर्षौंदेखि नयाँ मेसिनको माग गर्दै आएका छन् । तर अस्थिर राजनीतिको वातावरण, अस्पताल विकास समितिमा हुने राजनीतिक नियुक्ति, प्रशासनिक ढिलासुस्ती र नियमनकारी निकायको बेवास्ताका कारण माग अलपत्र परेको छ । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० अनुसार अस्पतालले आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने कानुनी व्यवस्था भए पनि भेरी अस्पतालले त्यो मापदण्ड पूरा गर्न सकेको छैन ।

नेपालगन्ज, भदौ १९

नेपालगन्जस्थित भेरी अस्पताललाई बाँके–बर्दिया मात्र होइन, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हजारौं बिरामीको भरपर्दो स्वास्थ्य केन्द्र मानिन्छ । तर पछिल्लो डेढ वर्षदेखि यहाँ उपचारका लागि आउने बिरामीहरू अत्यन्तै सास्ती खेपिरहेका छन् । कारण हो, ‘१२ वर्ष पुरानो सिटी स्क्यान मेसिन पूर्णरूपमा बिग्रनु ।’
धनगढीका जनक चौधरीलाई टाउकोमा रगत जमेको शंका भएपछि आफन्त खुसिराम चौधरीले हतारहतार भेरी अस्पताल पुर्‍याए । स्वास्थ्य परीक्षणपछि डाक्टरहरूले तत्काल सिटी स्क्यान गर्नुपर्ने सुझाए । तर, अस्पतालमै सुविधा नपाउँदा उनीहरूलाई बिरामीलाई अटोमा राखेर निजी ल्याब धाउनुपर्‍यो । सरकारी अस्पतालमा ८ हजारमै हुने परीक्षणका लागि खुसिरामले निजीमा १६ हजार रुपैयाँ तिर्नुपर्‍यो । यस्तै अनुभव बाँके नौबस्ताका धनिराम थारूको पनि छ । टाउकोको समस्या लिएर अस्पताल पुगेका उनलाई पनि सिटी स्क्यान बाहिरै गर्नुपर्‍यो । भेरीमा ४ हजार पर्ने सेवा निजीमा ८ हजार तिर्न बाध्य भए । उनीहरू मात्र होइनन्, हरेक दिन १०/१५ जना बिरामीले यस्तो पीडा भोगिरहेका छन् । सरकारी अस्पतालमा सस्तो उपचार पाउने अपेक्षा गरेर आउने बिरामीहरू महँगो शुल्कमा निजी ल्याब धाउन बाध्य छन् ।

भेरी अस्पतालको सिटी स्क्यान सेवा डेढ वर्षदेखि पूर्णरूपमा ठप्प छ । मेसिन पुरानो भएकाले यसअघि पनि टाउकोबाहेक शरीरका अन्य भागको स्क्यान सम्भव थिएन । अहिले त एक्स–रे ट्युब नै बिग्रिएपछि मेसिन पूर्णरूपमा निष्क्रिय बनेको छ । रेडियोलोजी विभागका इन्चार्ज विश्वनाथ शर्माका अनुसार, बिग्रिएको ट्युब चीनबाट मगाउनुपर्छ जसले करिब ६०/७० लाख रुपैयाँ खर्च पर्छ । अस्पतालसँग बजेट अभाव भएकाले मेसिन मर्मतरमा ढिलाइ भएको देखिन्छ । यो मेसिन सरकारद्वारा उपत्यका बाहिर पहिलोपटक पठाइएको १६ स्लाइस क्षमताको हो । तर, हाल सरकारले कम्तीमा १२८ स्लाइस क्षमताका सिटी स्क्यान मेसिन राख्ने मापदण्ड बनाएको छ । उपत्यकास्थित टिचिङ र पाटन जस्ता अस्पतालमा नयाँ मेसिनहरू सञ्चालनमा आए पनि बाँकेमा अझै पुरानै मेसिनबाट काम चलाउँदै आएको थियो । बिरामीको चाप दिनानुदिन बढ्दै गएका कारण यस्तो मेसिनले माग धान्न सक्ने अवस्था नै थिएन ।
भेरी अस्पतालका प्राविधिक र चिकित्सकहरू वर्षौंदेखि नयाँ मेसिनको माग गर्दै आएका छन् । तर अस्थिर राजनीतिको वातावरण, अस्पताल विकास समितिमा हुने राजनीतिक नियुक्ति, प्रशासनिक ढिलासुस्ती र नियमनकारी निकायको बेवास्ताका कारण माग अलपत्र परेको छ । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० अनुसार अस्पतालले आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने कानुनी व्यवस्था भए पनि भेरी अस्पतालले त्यो मापदण्ड पूरा गर्न सकेको छैन । नेपालगन्ज–भेरी अस्पताल क्षेत्रीय स्वास्थ्य गन्तव्य हो । यहाँ भारतसम्मका बिरामी समेत उपचारका लागि आउँछन् । यस्तो अवस्थामा आधारभूत सेवा ठप्प हुँदा बिरामीले ठूलो आर्थिक भार बोक्नुपरेको छ । धनगढीका खुसिराम भन्छन्, ‘सरकारी अस्पताल छ भनेर विश्वास गरेका थियौँ । तर, अन्ततः महँगोमा निजी धाउनुपर्‍यो ।’

अस्पतालको भौतिक पूर्वाधार विस्तार भए पनि उपकरण स्तरोन्नति नभएकाले समस्या बढ्दै गएको चिकित्सकहरूको भनाइ छ । भेरी अस्पतालका लागि नयाँ सिटी स्क्यान मेसिन आजको आवश्यकतामात्र नभई जीवनरक्षक पूर्वाधार बनेको छ । अस्पताललाई क्षेत्रीय स्वास्थ्य केन्द्रको रूपमा बलियो बनाउन सरकारले दीर्घकालीन दृष्टिकोणसहित लगानी नगरेसम्म जनताको पीडा बढ्ने स्पष्ट देखिन्छ । अहिले सिटी स्क्यान सेवा ठप्प हुनु एउटा सानो उदाहरण मात्र हो । स्वास्थ्यको हक राज्यले सुनिश्चित गर्नुपर्ने संवैधानिक अधिकार हो । तर जब साधारण परीक्षणका लागि पनि नागरिक महँगो शुल्क तिर्न बाध्य हुन्छन्, तब सरकारी स्वास्थ्य प्रणालीप्रति आस्था घट्न थाल्छ । भेरी अस्पतालमा नयाँ सिटी स्क्यान मेसिन ल्याउने विषय अब विकल्प होइन, अपरिहार्यता बनेको छ । यसले पश्चिम नेपालका हजारौं बिरामीलाई राहत दिन सक्छ । तर, सरकारले समयमै पहल नगरेसम्म खुसिराम र धनिरामजस्ता बिरामीका आफन्तले अझै लामो समयसम्म निजी ल्याबको ढोका ढकढकाउन बाध्य हुनेछन् । भेरी अस्पतालका निमित्त कार्यालय प्रमुख डा. प्रकाशबहादुर थापाका अनुसार मेसिन बन्ने प्रक्रियामा छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार