नेपालगन्ज, भदौ १८
नेपालगन्जमा कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रम गरिएको छ । बुधबार नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा गैरसरकारी संस्थाहरुद्वारा उपमहानगर क्षेत्रमा सञ्चालन गरी सम्पन्न भएका परियोजनाहरुको आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा तथा चालू आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन हुने परियोजनाहरुको प्रस्तुति कार्यक्रम सम्पन्न गरिएको सामाजिक विकास एवम् गैसस शाखा प्रमुख कृष्णप्रसाद जोशीले बताए ।
कार्यक्रममा दुई दर्जन संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिले गत आर्थिक वर्षमा गरेका क्रियाकलाप र चालू आर्थिक वर्षमा हुने कार्यक्रमबारे प्रस्तुतिकरण गरेका थिए । नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्जको विकास र समृद्धिका लागि संघ संस्थासंग हातेमालो गर्दै अघि बढिरहेको बताए । उनले संघ संस्थाबीच काम गर्दा समन्वय हुनुपर्नेमा जोड दिँदै डुप्लिकेशन हुन नहुनेमा सजग रहनुपर्ने बताए ।
समाजमा तात्विक परिवर्तन आउने गरी कार्यक्रम र परियोजनाहरु केन्द्रित हुनुपर्ने उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले नागरिक र समाजको आवश्यकता बोध गरी त्यसै प्रकारका कार्यक्रम डिजाइन गरेर कार्यान्वयन गर्दा परिणाममुखी हुने भन्दै त्यसका लागि सहकार्य गर्न नेपालगन्ज उमहानगरपालिका सधै तत्पर रहने बताए । कार्यक्रम नगर उपप्रमुख कमरुद्दिन राईको अध्यक्षतामा भएको हो ।