
बुटवल-१४, भदौ:- नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको १५ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने र सभापतिको उम्मेदवार बनेपछि शेरबहादुर देउवाले पनि साथ दिने दाबी गरेका छन् । रुपन्देहीको बुटवलमा पत्रकारसँग कुराकानी गर्दै सहमहामन्त्री राठौरले सभापति बन्न आफूलाई पार्टी सभापति देउवाको साथ रहने बताए ।
‘पार्टीलाई एकताबद्ध बनाउन र मुलुकमा बढ्दै गएको अराजकता, बेथिती र भ्रष्टाचार नियन्त्रण गर्न म सक्षम र योग्य नेतृत्व हो,’ उनले भने, ‘मलाई सभापति शेरबहादुर देउवाको साथ र सहयोग रहन्छ ।’ राठौरले आफू प्रधानमन्त्री वा मन्त्री बन्ने रहरले नभई कांग्रेसलाई बलियो बनाउन सभापति बन्न चाहेको बताए ।