
नेपालगंज-१४, भदौ:- नेपालगञ्जमा आइतबार र सोमबार दुई दिन नेपाली काँग्रेसको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम हुने भएको छ । नेपाली काँग्रेस बाँके प्रशिक्षण शाखाको आयोजनाममा बाँकेको जानकी गाउँपालिका वडा नं. ३ खजुरारोडस्थित होटल पौवाको सभाहलमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम हुन लागेको हो । प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको सबै तयारी पूरा भएको बाँके काँग्रेसले जनाएको छ ।
प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बाँके जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरु, क्षेत्र, प्रदेश सभा क्षेत्र तथा पालिका कार्यसमितिका पदाधिकारीहरु, निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरु र भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारी तथा सदस्य र जिल्ला अध्यक्षहरु गरी करीब २७५ जनाको सहभागिता रहने नेपाली काँग्रेस बाँकेका उपसभापति एवम् प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधिकारीले बताए ।
प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको आइतवार एक समारोहका बीच प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ्गले उद्घाटन गर्ने कार्यक्रम छ । उपसभापति एवम् प्रशिक्षण शाखा प्रमुख अधिकारकिा अनुसार प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा ‘प्रशिक्षणको विधि, प्रशिक्षकका सीप र प्रभावकारी प्रशिक्षण’, ‘लोकतान्त्रिक समाजवादः नेपाली काँग्रेसको आर्थिक नीति, उपलव्धि र भावी कार्यदिशा’, ‘नेपाली काँग्रेसको तहगत संरचना र नेतृत्व विकास’, ‘सांगठानिक अवस्था र संगठन विस्तारको रणनीति’, ‘युवा रोजगारी र उद्यमशिलता’, ‘संगठन विस्तारमा सूचना प्रविधिको प्रयोग र प्रभाव’ र ‘नेपालको संविधानः संविधान कार्यान्वयनमा काँग्रेसको भूमिका र दायित्व’ लगागतका समसायमिक विषयमा सहभागीहरुलाई प्रशिक्षण दिइनेछ ।
नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान विभागका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठ, प्रतिष्ठानका निर्देशक डा. कृष्णप्रसाद पौडेल, सदस्य विश्वदिप लामिछाने, प्रशिक्षक नवीन श्रेष्ठ, निर्देशक डा. सञ्जय महतो र योजनाविद् डा. जगदिशचन्द पोखरेलले प्रशिक्षण दिनेछन् ।